पर्यटन अब ‘ब्रोसर’बाट ‘डिजिटल मार्केटिङ’ तर्फ



काठमाडौं । इन्टरनेटको द्रुत विकासक्रमले विश्वका सबै मानिसलाई एउटा घरमा परिणत गर्दै लगेको छ । इन्टरनेटको विकाससँगै यतिबेला सामाजिक सञ्जाल तथा अन्य प्रविधिको विकासले क्षणभरमा विश्वका कुना–कुनाका गतिविधि अवलोकन गर्न सकिन्छ ।

पछिल्ला वर्षहरुमा नेपालमा पर्यटन प्रवद्र्धनका लागि डिजिटल मार्केटिङ सजिलो माध्यम बनेको छ । विगतमा विभिन्न सहरहरुमा हुने मेला–महोत्सवमा गएर प्रचार सामग्री बाँड्दै भ्रमणको लागि निम्ता गर्ने चलन अन्त्य हुदैं गएको छ ।

नेपालको पर्यटन प्रवद्र्धनको मुख्य जिम्मेवारी सम्हालेको नेपाल पर्यटन बोर्डदेखि पर्यटकीय संस्था तथा निजी व्यवसायको प्रवद्र्धन गर्नको लागि पनि पछिल्लो समय सूचना प्रविधिकै प्रयोग हुने गरेको छ ।

नेपाल भ्रमणमा आउने अधिकांश पर्यटक अहिले पहिले नै गुगल, समाजिक सञ्जाल तथा अन्य वेबसाइटमार्फत जानकारी लिएर आउने गर्छन् ।

कुन देशको कुन उमेर समूहका पर्यटकका लागि लागि प्रवद्र्धन गर्ने र जानकारी गराउने सबै काम सामाजिक सञ्जालबाट गर्न सकिने भएकोले सबैका लागि बाध्यकारी भएको बताउँछन् नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सुदन सुवेदी ।

‘बोर्डले विस्तारै पेपरलेस मार्केटिङमा जोड दिँदै गएको छ,’ सुवेदीले भने । पछिल्लो समय सबै कम्पनीले प्याकेज बनाएर आफ्नो वेबसाइटमा राख्ने र सामाजिक सञ्जालमार्फत प्रचार गराउने परम्पराको विकास भएको सुवेदी बताउँछन् ।

व्यक्ति–व्यक्तिबीच प्रवद्र्धनात्मक कार्यक्रमभन्दा पनि विद्युतीय सञ्चारमाध्यमबाट गरेको प्रचारप्रसार बढी प्रभावकारी हुने ठानेर विदेशी टेलिभिजनबाट विज्ञापन प्रसारण गर्ने गरिरहेको सुवेदीले बताए ।

फेसबुक, ट्विटर, युट्युब, भाइबर, गुगल प्लसलगायत सामाजिक सञ्जाल प्रयोग गरी लक्षित समूहमा पु¥याउने गरी काम अगाडि बढेको छ ।

‘डिजिटल माकेर्टिङ हाम्रो पहिलो लक्ष्य हो,’ उनले भने, ‘अहिलेको युगमा विद्युतीय सञ्चारमाध्यमबाट माकेर्टिङ नगरी सुखै छैन, अब पेपर र ब्रोसर बाँडेर बजारीकरण हुँदैन ।’

त्यसबाहेक नेपालको पर्यटन क्षेत्रबारे जानकारी दिने एप्स पनि निर्माण भइरहेका छन् । विद्युतीय माध्यमबाट प्रचारप्रसार गर्ने क्रममा विभिन्न ड्राइभ, चिप्समा नेपालबारे प्रचार सामग्री राखेर पर्यटकलाई वितरण गर्ने पनि सुवेदीले बताए । बोर्डले डिजिटल मार्केटिङका लागिमात्र २० करोड रुपैयाँभन्दा बढी रकम छुट्याएको छ ।
मेलामा भाग लिएर पर्यटक बढ्दैनन्।

पछिल्लो समय केही सुधार हुँदै गए पनि अझै पनि नेपालको बजारीकरण गर्ने शैली पुरानै छ । पहिले बी टु बी मार्केटिङ गर्न नेपालीहरु डब्लुटिएम, बर्लिन जाने गरेका थिए । अहिले पनि सोही विधि अपनाउने काम भइरहेकोमा असन्तुष्टि जनाउँछन् वरिष्ठ पर्यटन व्यवसायी योगेन्द्र शाक्य ।

‘हामीले पहिले त्यहाँको व्यवसायीसँग पर्यटक पठाइदेउ भन्न जाने गरेका थियौं, तर अब यसरी गाह्रौ छ,’ शाक्यले भने । अहिले सबै अनलाइनमार्फत हुन थालेकोले कोही पनि कसैले यहाँ घुम्न जा भनेर नजाने समय आएको शाक्य बताउँछन् । ‘अहिले पर्यटकले आफैं गन्तव्य खोज्छ, आफैं बुकिङ गर्छ र घुम्न निस्कन्छ,’ शाक्यले भने ।

अमेरिकन एक्सप्रेसको कार्डमा नेपालका गन्तव्य

नेपाल पर्यटन बोर्डले अमेरिकन एक्सप्रेससँग सम्झौता गरेको छ । उक्त कम्पनीले खासगरी विश्वका गन्तव्यहरुका बारेमा आफ्ना ग्राहकलाई जानकारी गराउने काम गर्छ । एक्सप्रेसलाई तोकिएको रकम तिरेपछि कार्ड उपलब्ध गराउने र उक्त चिप्समा सबै गन्तव्यहरुको बारेमा जानकारी तथा अपडेट दिने गरेको छ ।

‘हामीले एक्सप्रेसलाई निश्चित रकम तिरेपछि नेपालको बारेमा जानकारी आफ्नो कार्डमार्फत पठाउने काम गर्छ,’ सुवेदीले भने ।

७३ गन्तव्यको जानकारी एकै एप्समार्फत बोर्डले सूचना प्रविधिको प्रयोग गर्दै घुमफिर एप्स सार्वजनिक गर्ने तयारी गरेको छ । जसमा नेपालका ७३ वटा गन्तव्यको बारेमा जानकारी गराइन्छ । पहिलो चरणमा २५ गन्तव्य र दोस्रो चरणमा ७३ गन्तव्यको जानकारी एप्समा राखिनेछ ।

ट्रिप एड्भाइजरसँग पनि सम्झौता

नेपाल पर्यटन बोर्डले ट्रिप एड्भाइजरसँग पनि सम्झौता गरेको छ । एड्भाइजरले आफ्नै हिसाबले अनुसन्धान गरेर नेपालका केही गन्तव्यको प्रचार गरिरहेको थियो । अहिले भने नेपालले व्यावसायिक रुपमै काम गरिरहेको छ ।

ट्रिप एडभाइजरले विश्वका उत्कृष्ट गन्तव्यहरुको सूची सार्वजनिक गर्दै आएको छ । पछिल्लो समय विश्वमा ट्रिप एड्भाइजर तथा अन्य संस्थाहरुले दिने जानकारीकै आधारमा पर्यटकहरुले गन्तव्य छनोट गर्ने गरेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा विज्ञापन

बोर्डले अन्तरराष्ट्रिय सञ्चारमाध्यममा नेपालबारे प्रचारप्रसार गर्ने विज्ञापन प्रसारण गरिरहेको छ । अन्तरराष्ट्रिय स्तरका सञ्चारमाध्यममा प्रचारप्रसार गर्दा नेपालमा विदेशी पर्यटक भित्र्याउने सकिने बोर्डको ठहर छ ।

बिबिसी र बोर्डबीच सम्झौता भएर अहिले नेपालको प्रचार समाग्रि प्रचार भइरहेको छ । बोर्डले बीबीसीमा १० करोड रुपैयाँ विज्ञापनमा खर्च गर्दैछ । त्यसबाहेक छिमेकी मुलुक चीन र भारतका एक–एकवटा टेलिभिजनमा पनि नेपालको विज्ञापन गर्ने तयारी भएको छ ।

चीन र भारतका कुन टेलिभिजनमा विज्ञापन प्रसारण गर्ने समेत तयारी बोर्डले गरेको छ । भारतीय र चिनियाँ टिभीमा विज्ञापन गर्दा ३ करोड रुपैयाँका दरले ६ करोड रुपैया खर्च हुनेछ ।

नेपालको पर्यटन बजारको ठूलो हिस्सा चीन र भारतले ओगटेकाले ती मुलुकलाई प्राथमिकता दिएको छ ।


क्लिकमान्डु