स्थानीयको अबरोधले प्रसारण लाइन निर्माणमा समस्या



म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ रातोपानीका बासिन्दाले विद्युत् प्रसारण लाइनको टावर निर्माण कार्यमा अवरोध गरेका छन् ।

नेपाल विद्युत् प्राधिकरणअन्तर्गत २२० केभी क्षमताको खुर्कोट–दाना प्रसारण लाइनअन्तर्गत घारको रातोपानीमा टावर राख्ने पूर्वाधार निर्माणका क्रममा अवरोध गरेका हुन् ।

आयोजनाले स्थानीय बासिन्दालाई कुनै जानकारी नदिई सर्वेक्षण गरेको भन्दा फरक ठाउँमा टावर राख्न खोजेकाले तत्काललाई काम गर्न रोकिएको स्थानीयवासी लोक खत्री बताउँछन् ।

निर्माण कम्पनी र आयोजनाले पूर्वजानकारी नदिई डोजर ल्याएर एक्कासि टावरको जग खनेको स्थानीयवासीको गुनासो छ ।

उनीहरुले बस्तीलाई असर नपर्ने ठाउँमा टावर राख्न र प्रसारण लाइन लैजान आयोजनालाई अनुरोध गरेका छन् ।

अहिले बनाउन लागिएको ठाउँमा टावर राख्दा वरपरका २० घरधुरी विस्थापित हुने खत्रीले बताए । स्थानीयवासीको अवरोधपछि आयोजनाको काम रोकिएको छ ।

३० कामदार र एकवटा डोजर त्यहाँ परिचालन भएको थियो । अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष कृष्णप्रसाद बरुवालले प्रभावित क्षेत्रको बासिन्दा र आयोजनाबीच छलफल गरेर समस्या समाधानका लागि पहल भइरहेको जानकारी दिए ।

कालीगण्डकी कोरिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत नेपाल विद्युत् प्राधिकरणले पर्वतको खुर्कोट र म्याग्दीको दानामा सब स्टेसनका साथै ३८ किलोमिटर दूरीको प्रसारण लाइन निर्माणको काम गरिरहेको छ । रासस


क्लिकमान्डु