दार्जिलिङमा इन्टरनेट र टेलिफोन छैन, विरोधमा मोबाइल जलाइयो



काठमाडौं । दार्जिलिङका आन्दोलनकारीले ‘मोबाइल जुलुस’ प्रदर्शन गर्दै मोबाइल फोन जलाएका छन् । गोर्खाल्यान्ड आन्दोलन दबाउन पश्चिम बंगाल सरकारले ४० दिन देखि इन्टरनेट र केही दिन यता टेलिफोन सेवा समेत अवरुद्ध गरेपछि स्थिति तनावपूर्ण बन्दै गएको छ ।
बिरामी, स्कुले र संवेदनिशल क्षेत्रमा काम गर्नेहरू समेत सञ्चार अवरोध पछि प्रभावित भएका छन् । सिक्किमबाट प्रकाशित हुने नेपाली दैनिक समयका अनुसार दार्जिलिङमा गम्भीर मानवीय संकट देखिएको छ । बिजुली नियमित छैन भने रेडियो र टेलिभिजनको प्रसारणमा पनि सरकारले अवरोध गरेको छ ।
आक्रोशित अान्दोलनकारीले बुधबार हातमा मोबाइल फोन देखाउँदै प्रर्दशन गरेका थिए । ‘फोन र इन्टरनेट नचल्ने मोबाइल सेटको के काम’ भन्दै मोबाइल सेट जलाइएको स्थानीय प्रकाश सुब्बाले बताए ।
इन्टरनेट सेवाको अवरोधले बोर्ड परीक्षा फारम भर्न नपाएपछि विद्यार्थी र शिक्षक समेत प्रभावित भएका छन् । दार्जिलिङ शिक्षक संघले विद्यार्थीको समस्यालाई हेर्दै इन्टरनेट सुचारू गरिदिन गरेको आग्रह प्रशासनले अस्वीकार गरेको भारतीय संचार माध्यमले जनाएका छन् ।
 

 


क्लिकमान्डु