सत्तरी हजार पर्यटकद्वारा म्याग्दी भ्रमण



म्याग्दी। आर्थिक वर्ष २०७३/७४ मा ७० हजार बाह्य पर्यटकले जिल्लाका विभिन्न पर्यटकीयस्थलको भ्रमण गरेका छन् ।

आव २०७२/७३ को तुलनामा २०७३/७४ मा  २६ हजार बढी पर्यटकले जिल्लाको भ्रमण गरेका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार २०७३ को साउनदेखि २०७४ असारसम्म ६९ हजार ८३७ जनाले जिल्लाको भ्रमण गरेका थिए । आव २०७२/७३ मा ४३ हजार ६३२ पर्यटकले भ्रमण गरेका थिए ।

घोडेपानी पर्यटक चौकी, बेनी, भुरुङ तातोपानी र दरवाङस्थित प्रहरी चौकीले जिल्ला भित्र्ने र बाहिरिने पर्यटकको तथ्यांक राख्ने गरेका छन् ।

मुस्ताङको प्रवेशद्वारको रुपमा रहेको म्याग्दीमा धौलागिरि र अन्नपूर्ण हिमाल आरोहण, प्राकृतिक तातोपानी कुण्ड, घोडेपानी, पुनहिल, खोप्रा, अन्नपूर्ण धौलागिरि, धौलागिरि सेञ्चुरी, धौलागिरि चक्रिय, धौलागिरि आइसफल, टोड्के, रुप्से झरना, अन्धगल्छी, गलेश्वर, बेनीबजारलगायत ठाउँको भ्रमणका लागि यहाँ पर्यटक आउने गरेका छन् ।

घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष जुनबहादुर पुन भूकम्प र नाकाबन्दीका कारण थलिएको पर्यटन व्यवसाय पुरानै लयमा फर्किएको बताउनुहुन्छ । अमेरिका, बेलायत, जर्मन, अष्ट्रेलिया, भारत, दक्षिण कोरिया, चीन, मलेसिया, थाइल्याण्डलगायत देशका नागरिक यहाँ भ्रमणमा आउने गरेका छन् ।


क्लिकमान्डु