बीर अस्पतालमा क्यान्सर बिरामीका लागि ३५ लाखको कोष



काठमाडौं । बीर अस्पतालमा क्यान्सर बिरामीको उपाचारका लागि ३५ लाख रुपैयाँको शाइल कुमार उपाध्याय र करेन बास ट्रष्ट स्थापना गरिएको छ ।

क्यान्सरको उपचारको लागि आउने विपन्न बिरामीको केमोथेरापी औषधी प्रधान गर्नका लागि ट्रस्टको स्थापना गरिएको हो ।

आज काठमाडौंमा आयोजित कार्यक्रममा शाइल कुमार उपाध्याय र करेन बास ट्रस्टले बीर अस्पताल, नेशनल ट्रमा सेन्टरलाई ३५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

क्यान्सर रोगले बिरामी स्वयंलाई मात्रै नभई सिँगो परिवारलाई नै ग्रस्त बनाउने ट्रष्टकी ट्रष्ट्री विदुषी राणाले बताइन् ।

‘क्यान्सरको उपचार नेपालमा आर्थिक हिसाबले महँगो छ, ट्रस्टले बीर अस्पतालमा सानो योगदान स्वरुप आर्थिक अवस्थामा कमजोर क्यान्सर रोगीहरुमा लक्षित गरेर केमोथेरापी औषधि प्रदान गर्नेछ,’ उनले भनिन् ।

न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको कूटनीतिज्ञ रहेका राणाको काका स्वर्गीय शाइल कुमार उपाध्याय र फोक्सोको क्यान्सरबाट मृत्यू भएकी काकी स्वर्गीय करेन बास प्रति समर्पित गर्दै राणाले ट्रस्ट स्थापना गरेकी हुन् ।

सहयोगबाट कुनै एक जनाको जीवन रक्षा भएमा, आफनो काका र काकीको आत्मालाई शान्ति मिल्ने उनले जिकिर गरिन् ।

राणाले आगामी दिनहरुमा ट्रस्टले अझै बढी सामाजिक कार्यहरुको योजना बनाउने प्रष्ट पारिन ।


क्लिकमान्डु