माडीमा पाँच दिनदेखि विद्युत् सेवा बन्द, कसले हेर्ने भन्ने अन्यौलले सञ्चालनमा ढिलाइ



रत्ननगर । बिग्रिएर बनेको महिना दिन नपुग्दै जमिनमुनि गाडिएको बिजुलीको तारमा समस्या हुँदा दक्षिण चितवनको माडी पाँच दिनदेखि अन्धकार भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जभित्र जमिनमुनि गाडिएको तारमा समस्या हुँदा साउन ३ गतेबाट यहाँ विद्युत् सेवा अवरुद्ध हुन पुगेको हो । आजसम्म निर्माण कम्पनीले सो समस्याको विषयमा कुनै चासो नदिएको स्थानीयवासीले बताएका छन् ।

जमिनमुनि गाडिएको तार ७ स्थानमा गाँसिएको छ । सोमध्ये २ स्थानमा डढेको जस्तो कालो लागेको पाइएको भए पनि परियोजना हस्तान्तरण नहुँदा आफूहरुले हेर्न नपाएको नेपाल विद्युत् प्राधिकरण, भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेल बताउँछन् ।
‘स्थानीय उपभोक्ताहरु हामीलाई गाली गरिरहेका छन्, समस्याबारे कुरा गर्दा हामी आफैँ आएर हेर्छौं भनेका छन्, पौडेलले भने, हस्तान्तरण नभएको परियोजना हामीले सिधै गएर हेर्न मिल्दैन ।’

परियोजनाले समस्या हेर्ने जिम्मा ठेकेदारलाई दिएकाले ठेकेदारको लापर्बाहीका कारण समस्या बेलैमा पहिचान हुन नसकेको आरोप स्थानीयवासीले लगाएका छन् ।

यसअघि चितवन राष्ट्रिय निकुञ्जस्थित जमिनमुनि गाडिएको विद्युत्को तारमा देखिएको खराबीका कारण असार ५ गतेदेखि अवरुद्ध भएको त्यहाँको विद्युत् सेवा २ सातापछि शुरु भएको थियो । त्यसको महिनादिन नपुग्दै फेरि समस्या देखिएको हो ।

जमिनमुनिको तारमा देखिएको खराबी पत्ता लगाउन नेपालको प्रविधिले नसकेपछि खराबी पत्ता लगाउने मेसिन (केवल फल्ट फाइन्डिङ मेसिन) भारतबाट ल्याई सेवा शुरु गरिएको थियो ।

मंसिरबाट विद्युत् सेवा शुरु भएको माडीमा अहिले करिब ४ हजार ग्राहक छन् । पटक पटक जमिनमुनिको खराबीले यहाँका उपभोक्ता मारमा पर्दै आएका छन् ।


क्लिकमान्डु