एकैपटक १४ वटा सडकको स्तरोन्नति गर्दै महानगर



मोरङ । विराटनगर महानगरपालिकाले विराटनगर क्षेत्रको विकासका लागि एकैपटक १४ वटा सडकको स्तरोन्नतिका लागि काम शुरु गरेको छ ।

नेपाल सरकारको सघन शहरी विकास कार्यक्रमअन्र्तगत उक्त सडक व्यवस्थित एवं पुनःनिर्माण हुन लागेको हो ।

चौधवटा सडकको निर्माण लागत एक अर्बभन्दा बढी रहेको छ । उक्त  सडकको लम्बाइ २५ किमी रहने जनाइएको छ ।

महानगरपालिकाका विभिन्न १० वटा वडाका सडकलाई व्यवस्थित एवं विस्तार गर्न लागिएको हो । सडक विस्तारका लागि ठेक्काको कामसमेत सम्पन्न भइसकेको छ ।

विराटनगर महानगरपालिकाको वडा नं १६ देखि २० नं जोड्ने दरैयामार्ग, वडा नं १८ को जतुुवा चोकदेखि कठकुप्पासम्म  व्यवस्थित सडक निर्माण गर्न लागिएको जनाइएको छ ।

त्यस्तै विराटनगर–५ को खानेपानीटंकी हुँदै जामुनेश्वर मार्गसम्म, वडा नं ४ को कञ्चनमार्ग, भूपूमार्ग तथा औषधि व्यवस्था विभाग हुँदै बिहीबारे हटियासम्म त्यस्तै वडा नं १ को नमुनामार्ग, वडा नं २ को संसारी माईपथ तथा विराटनगर–११ को अशोक चोक जाने सडकलाई व्यवस्थित गर्न लागिएको हो।

यसै आवमा काम सम्पन्न गर्ने गरी सडक विस्तारसँगै  दुवैतर्फ व्यवस्थित नाला र स्तरीय कालोपत्रे गरी उक्त सडकलाई विराटनगरकै नमुना सडक बनाउनेगरी काम गर्न लागिएको महानगरपालिकाका नवनिर्वाचित उपप्रमुख इन्दु कार्कीले बतार्इन।

 


क्लिकमान्डु