दुर्गममा बैंकको शाखा खोल्न अन्य देशले प्रयोग गरेको यो तरिका अंगाल्ने कि ?




काठमाडौं । सरकारले चालु आर्थिक बर्षको बजेटमा यो बर्षभित्रै सबै स्थानीय तह (७ सय ४४ वटा) मा बैंक पुर्याउने घोषणा गरेको छ । सरकारको घोषणापछि राष्ट्र बैंकले बैंकर्स संघलाई ‘तपाईंहरु कहाँ कहाँ र कसरी जान सक्नुहुन्छ ? सुची दिनुहोस्’ भनेको थियो । बैंकर्स संघले बैंकरहरुबीच छलफल गरेर यसैबर्ष २ सय ५० स्थानीय तहमा शाखा विस्तार गर्ने जनाएका थिए ।

बैंकर्स संघले बुझाएको लिस्टमा दुर्गमका करिब २ सय स्थानमा जाने बारे केही पनि उल्लेख छैन । राष्ट्र बैंकले दुर्गम स्थानहरुमा जानका लागि फेरी छलफल गरेर सुची दिन भनिसकेको छ ।

एचडिएफसीले दुर्गम क्षेत्रमा ‘हब’ केन्द्रित बैंकिङ सेवा पनि प्रदान गर्ने गरेको छ । नेपालमा पनि बिभिन्न समयमा खुल्ने हाट बजार, दूधलगायत अन्य उत्पादनहरु संकलन केन्द्रहरुमा बैंकको शाखा वा सेवाहरु बिस्तार गर्न सकिन्छ ।

यसरी दुर्गम क्षेत्रमा बैंकिङ सेवा बिस्तार गरेर बैंक खाता नभएकाको खाता खोलेमा २५ सय खाता खोल्ने बैंकलाई १ करोड रुपैंयाँ निब्र्याजी ऋण दिने घोषणा गरिसकेको छ । साथै, बैंकलाई स्थानीय तहमा बजारको अभाव नहोस भनेर एउटा बैंकले शाखा खोलेको स्थानीय तहमा ३ बर्षसम्म अरु बैंकले शाखा खोल्न नपाउने ब्यवस्था समेत गरेको छ ।

यी सुबिधाका बावजुद बैंकहरुलाई दुर्गम क्षेत्रहरुमा शाखा खोल्नका लागि दुईवटा महत्वपूर्ण कठिनाइहरु छन् ।

पहिलो, शाखा बिस्तार गर्दा लाग्ने खर्च र मानव स्रोत । बैंकको सामान्य शाखा खोल्नका लागि कम्तिमा पनि २५ देखि ३० लाख रुपैयाँसम्म लाग्ने बैंकर बताउँछन् ।

बैंकहरुलाई शाखामा चाहिने कर्मचारीको जोहो गर्न पनि उत्तिकै गाह्रो छ । दुर्गम क्षेत्रमा दक्ष जनशक्तिको अभाव हुने र, सहरी क्षेत्रबाट कर्मचारीहरु दुर्गम क्षेत्र जान आनाकानी गर्ने हुनाले मानव स्रोतको समस्या देखिएको हो । कर्मचारीहरुलाई दुर्गम भत्ता दिंदा बैंकको कर्मचारी खर्च धेरै बढ्ने चुनौती पनि छदैंछ ।

दोस्रो, दुर्गम क्षेत्रका लागि उपयुक्त वित्तीय सेवा र उत्पादन (फाइनान्सियल प्रडक्ट) को निमार्ण । नेपालका धेरै बैंकहरु पछिल्लो दशकमा मात्र खुलेका हुन्, जसको शाखा सञ्चाल सिमित छन् । र, कर्मचारीहरु पनि सहर बजार र मुस्किलले जिल्ला सदरमुकाममा मात्र काम गरेका छन् । दुर्गम क्षेत्रमा वित्तीय सेवा पुर्याउनका लागि यी अनुभव उपयोगी नहुन सक्छन् ।

‘हामी बैंकमा टाइ–सुट लगाएर सेवा दिन बसेपछि मानिसहरु अलि धक मान्ने र बैंकभित्र प्रवेश गर्नै हिच्किचाउँथे,’ पहाडी जिल्लाको सदरमुकाकममा काम गरेका एक बैंकर्सले आफ्नो अनुभव सुनाए ।

यस्तोखाले चुनौतीको सामना गरी दुर्गम क्षेत्रका बासिन्दालाई वित्तीय सेवा दिन फरक खाले चेतना र क्षमताको खाँचो पर्नसक्छ ।

दुर्गम क्षेत्रमा पस्दा बैंकहरुले सामना गर्नुपर्ने अर्को चुनौती भनेको उपयुक्त सेवा र वित्तीय उत्पादनको निर्माण हो । यसका लागि धेरै अध्ययन र बिकासको काम गनुपर्ने हुन्छ । सहर–बजारका बचत र ऋण ‘स्किम’हरु दुर्गम क्षेत्रमा असान्दर्भिक हुन्छन् ।

समग्रमा भन्दा शाखाहरुको बिस्तारमा लाग्ने खर्च (सिमित बजार हुने भएका कारण), मानव स्रोत र उपयुक्त वित्तीय सेवा तथा उत्पादन नै बैंकहरुका लागि प्रमुख चुनौती हुन् ।

शाखाहरुको बिस्तारमा लाग्ने खर्च र मानव स्रोतको चुनौती सामना गर्न बैंकहरुले प्रबिधिको प्रयोग गर्न सक्छन् । भारतको एचडिएफसी बैंकले सञ्चालन गरिरहेको ग्रामीण बैंकिङ मोडल नेपालमा पनि उपयोगी हुनसक्छ ।

ग्रामीण शाखाहरुको चुस्त र मितव्ययी ढंगले सञ्चालन गर्न एचडिएफसीले बिभिन्न मोडलहरु अपनाएको छ ।

उनीहरुले सहरी शाखामा झै ८–१० जना कर्मचारी राखेका छैनन् । उनीहरुले बढिमा २ देखि ३ जना जनशक्तिको प्रयोगले शाखा सञ्चालन गर्दै आएका छन् । साथै, एक जना ‘डुलुवा’ कर्मचारी पनि राख्ने गरेका छन्, जसले ग्रामीण भेगका जनतालाई घर–घरै पुगेर वित्तीय सेवा प्रदान गर्छ । यसले गर्दा गाउँलेहरुलाई खेतीपातीको काम छाडेर बैंक जानुपर्ने हुँदैंन ।

एचडिएफसीले दुर्गम क्षेत्रमा ‘हब’ केन्द्रित बैंकिङ सेवा पनि प्रदान गर्ने गरेको छ । नेपालमा पनि बिभिन्न समयमा खुल्ने हाट बजार, दूधलगायत अन्य उत्पादनहरु संकलन केन्द्रहरुमा बैंकको शाखा वा सेवाहरु बिस्तार गर्न सकिन्छ ।

यस्ता ‘हब’स्थित शाखाहरुमा एचडिएफसीले १ जना कर्मचारी भएको शाखा स्थापना गरेको छ । तर, अभौतिक कारोबारका लागि चाहिने प्रबिधिहरुको भरपुर प्रयोग गरिएका छन् । एचडिएफसीको दृष्टिकोणमा उनीहरुले प्रबिधिको प्रयोगद्धारा शाखाको खर्च कतौती गर्न सकेका छन् । र, उनीहरुले एउटै ‘हब’बाट २५ वटा गाँउलाई सेवा पुर्याउन सकेका छन् ।

एचडिएफसीले ग्रामीण भेगमा फोन बैंकिङको माध्यमबाट पनि आफ्ना ग्राहकलाई सेवा दिइरहेको छ । यसका लागि स्मार्ट फोनको जरुरत पनि पर्दैन । साधारण फोनबाटै आधारभुत बैंकिङ सेवा दिइरहेको छ एचडिएफसीले ।

नेपालमा पनि अभौतिक कारोबारका लागि सहज हुने मोबाइल वालेटलगायत प्रबिधिकोे शुरुवात भैसकेको छ । मोबाइल फोनको पनि राष्ट्रब्यापी रुपमा बिस्तार भैसकेको छ ।

यसैगरी भारतको आइसीआइसीआइ बैंकले ग्रामीण शाखामा कम कर्मचारी राखेर अन्य कारोबारी, कृषि सेवा प्रदायक, स्थानीय दलाल आदिको माध्यमबाट वित्तीय सेवा दिंदै आएको छ ।

यसैगरी ग्रामीण क्षेत्रमा शाखा बिस्तार गर्ने बैंकहरुले आफ्ना वित्तीय सेवा र उत्पादको निमार्णमा भने बिशेष जोड दिनैपर्छ । यसका लागि आफूले शाखा बिस्तार गर्ने क्षेत्रको आर्थिक, सामाजिक, साँस्कृतिक र वातावरणीय पाटोका बारेमा पनि हेक्का राख्नुपर्छ ।

यी र यस्तै बिषयहरुमा केन्द्रित हुँदै भारतको आइसीआइसीआई बैंकले सृजना गरेका केही वित्तीय उत्पादनहरुले नेपालका बैंकहरुलाई पनि केही सहयोग पुग्नसक्छ ।

उदाहरणको लागि आइसीआइसीआईले ग्रामीण भेगका ग्राहकलाई सुन धितो राखेर एकै दिनमा ऋण लिन सकिने ब्यवस्था गरेको छ । किसानहरुका लागि कृषिजन्य उत्पादनदेखि फसल भित्र्याउने समयसम्मका लागि बिशेष ऋणको ब्यवस्था गरेको छ । यसैगरी ग्रामीण भेगका जनतालाई काम गर्न सजिलो होस भनेर ‘ट्रयाक्टर लोन’ पनि दिने गरेको छ ।

असंगठित कर्जादाताको भन्दा कम दरमा कर्जा, उत्पादन केन्द्रित ऋण, खेतीबाली लगाउने समयमा ऋण, ऋण तिर्ने उपयुक्त समयको निर्धारण, बीमा कम्पनीहरुसँगको सहकार्यमा प्रदान गर्न सकिने बीमा सेवालगायत बिषयमा केन्द्रित हुँदा उपयुक्त वित्तीय सेवा र उत्पादनहरुको सृजना हुनसक्छ ।


क्लिकमाण्डू