मुग्लिन – नारायणघाट अवरुद्ध राजमार्गबाट चिवतका होटल उद्योग सञ्चालनमा कठिनाई



काठमाडौं । मुग्लिन नारायणघाट राजपथ स्तरोन्नतिको कारण नियमित रुपमा यातायात अवरुद्ध भएको हुँदा द्रुत गतिमा विकास विस्तार भएको चितवन सौराहा क्षेत्रका व्यवसायीहरुले पर्यटनन सचिवसँग छलफल गरेका छन् ।

पर्यटकको बुकिङ न्यून रहेको हुँदा यसबाट समस्त पर्यटन क्षेत्रमा नै नकारात्मक प्रभाव परेको स्थितिमा सुधारका उपायहरु खोज्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीको अध्यक्षतामा सबै सरोकारवालाहरुको बैठक मन्त्रालयमा बसेको हो ।

बैठकमा सडक विभागका उपमहानिर्देशक सञ्जयकुमार श्रेष्ठले मुग्लिन नारायणघाट राजपथ आउँदो अप्रिल २०१८ सम्म पूर्ण रुपमा सञ्चालनमा आउने तथा यातायातको चाप घटाउन खाली फर्कने मालवाहक ट्रकहरुलाई अन्य वैकल्पिक बाटो मात्र प्रयोग गर्ने व्यवस्था लागू गर्न लागिएको र हालको वर्षायाम पश्चात उक्त राजमार्गको स्तरोन्नति कार्य युद्धस्तरमा गर्ने गराउने योजना तयार पारिएको दिए ।

विमान कम्पनीहरुले थप उडान गराउन चाहेमा नागरिक उड्डयन विभाग सकारात्मक रहेको पनि बैठकमा सम्बन्धित विभागका प्रतिनिधिले जनाएका छन् ।

काठमाडौं–चितवन–पोखरा–लुम्बिनीबीचको स्तरीय राजमार्ग पर्यटन उद्योगको विकास र विस्तारका लागि आवश्यक रहेको पक्षलाई दृष्टिगत गरी पर्यटन मन्त्रालयबाट सम्बन्धित निकायहरुसँगको समन्वयमा कार्य योजना बनाउनुपर्ने पनि बैठकमा छलफल भएको थियो ।

मुग्लिन नारायणघाट राजमार्गको स्तरोन्नति सम्पन्न नभएसम्म वैकल्पिक राजमार्गरुहको उपयोग बढाउनु पर्ने आवश्यकतालाई मनन गरी फर्पिङ–हेटौंडा र हेटौंडा–दक्षिणकाली राजमार्गलाई एकतर्फी रुपमा सञ्चालन गर्ने लगायत कान्ती लोकमार्ग, त्रिभुवन राजपथ तथा मलेखु भण्डारा भएर जाने बाटोको उपयोग बढाउने बारे पनि छलफल भएको थियो ।

साथै चितवन सौराहा क्षेत्रका होटल व्यवसायीहरु र निजी हवाई कम्पनीहरुले आपसी सहकार्यमा विशेष प्याकेज तयार गरी विदेशी र स्वदेशी पर्यटकहरुलाई सेवा प्रदान गर्ने पनि उक्त बैठकमा सहमति भएको छ ।

होटल संघ नेपालको पहलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजना भएको सो बैठकमा मन्त्रालयका उच्च अधिकारी, सडक विभाग, नागरिक उड्डयन प्राधिकरण, बुद्ध एयर, यति एयरलाइन्सलगायत होटल संघ नेपालका अध्यक्ष अमरमान शाक्यले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सहभागिता रहेको थियो ।

 


क्लिकमान्डु