दैनिक पाँच हजार लिटर दूध बिक्री



बागलुङ । आर्थिक वर्ष २०७३/७४ मा जिल्लामा २५ हजार ३०० मेट्रिक टन दूध उत्पादन भएको छ ।

पशु विकास अधिकृत निलकण्ठ शर्माका अनुसार गत आवको तुलनामा तीन दशमलव २० प्रतिशतले दूधको उत्पादन बढेको छ ।

गाई र भैँसीमा नश्ल सुधारका साथै व्यावसायिक पशुपालन बढेपछि दूधको उत्पादन बढेको हो । स्थानीय र उन्नत जातको भैँसीको दूधको मात्रा एउटै रहे उन्नत जातको गाईको दूधको मात्रा बढेको शर्माले बताए ।

‘दैनिक पाँच हजार लिटर दूधको कारोबार हुने गरेको छ,’ उनले भने, ‘दैनिक एक हजार लिटर दूध जिल्ला बाहिर निर्यात हुन्छ ।’

वार्षिक दुई करोड ५० लाख रुपैयाँ बराबरको दूध किसानले बिक्री गर्ने गरेका छन् । उत्पादन बढाउन कार्यालयले दूध उत्पादन कार्यक्रम सञ्चालन गरेको छ । कार्यालयले किसानलाई नश्ल सुधार, कृत्रिम गर्भाधान, गोठ सुधार कार्यक्रमका लागि आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

व्यावसायिक ‘फार्म’ चलाउने किसानलाई अनुदानसमेत दिने गरिएको वरिष्ठ पशु विकास अधिकृत डा गोपाल गिरीले बताए। व्यावसायिक पशुपालन गर्ने क्रम बढेपछि दूध उत्पादन बढेको उनको भनाइ छ ।

दूधको उत्पादन बढेसँगै बजारलाई पनि व्यवस्थित गर्नुपर्ने बागलुङ दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष युक्तप्रसाद कँडेल बताउँछन् । “दूधले बजार नपाउने समस्या पनि देखिएको छ,” उनले भने । उनले वितरणलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताए । अहिले जिल्लामा प्रतिलिटर रु ८० मा दूध बिक्री हुँदै आएको छ ।

जिल्लाको बलेवा, गलकोट, कुश्मीसेरा, बिहुँ, ताराखोला, बुर्तिबाङल दूध उत्पादन बढी हुने ठाउँ हुन् ।  मासु र अण्डामा समेत बागलुङलाई आत्मनिर्भर बनाउने कार्यक्रम सञ्चालन गरेको डा गिरीको भनाइ छ ।


क्लिकमान्डु