पोखरा महानगरपालिकाले मोटरसाइकल पार्किङ गर्दा लाग्ने शुल्क घटायो
काठमाडौं । पोखरा महानगरपालिकाले महानगरभित्र मोटरसाइकल पार्किङ गर्दा उठाउँदै आएको दस्तुर घटाएको छ । महानगरले आर्थिक वर्ष २०७४/७५ को आर्थिक ऐनमार्फत मोटरसाइकल पार्किङ गर्दा लाग्ने शुल्क घटाएको हो ।
काठमाडौं महानगरपालिकाले एक घन्टाका लागि मोटरसाइकल पार्किङ गर्दा १५ देखि २० रुपैयाँ शुल्क उठाउने निर्णय गरिरहेका बेला पोखराले भने घटाएको हो ।
यसअघि पोखरा उपमहानगरपालिका थियो । उपमहानगरपालिकाले मोटरसाइकल पार्किङ गर्दा प्रदिदिन प्रतिमोटरसाइकल ७ रुपैयाँ शुल्क उठाउँथ्यो ।
तर, आर्थिक वर्ष ०७४/७५ मा भने महानगरले मोटरसाइकल पार्किङ गर्दा प्रदिदिन प्रतिमोटरसाइकल ५ रुपैयाँ मात्रै शुल्क लिने जनाएको छ । महानगरले मोटरसाइकल पार्किङ शुल्क २ रुपैयाँले घटाएको हो ।
महानगरले अन्य सवारीसाधन पार्किङमा लाग्ने शुल्क भने यथावत राखेको छ ।
महानगरले पारित गरेको आर्थिक ऐन अनुसार पोखरा महानगरभित्र बस, ट्रक तथा मिनिबसले २५ रुपैयाँ, ट्याक्सी, भ्यान, माइक्रोबसले २० रुपैयाँ, ट्याक्टरले १० रुपैयाँ, निजी जिप कारले १५ रुपैयाँ र मोटरसाइकल तथा स्कुटरले ५ रुपैयाँ पार्किङ शुल्क तिर्नुपर्नेछ ।