टनेलमा तरकारी खेतीबाट लाखौँ आम्दानी



पाल्पा। पाल्पाको पूर्वखोला गाउँपालिका–२ जल्पाका किसानले प्लास्टिक टनेलमा गोलभेँडा खेती गरी लाखौँ रुपैयाँ आम्दानी लिन थालेका छन् । अधिकांश घरपरिवारले अहिले गोलभेँडाखेतीबाट आम्दानी लिन थालेपछि यहाँ तरकारीखेती आकर्षक पेशा बन्दै गएको छ ।

प्रत्येक वर्ष सात रुपैयाँदेखि १५ लाख रुपैयाँ बराबरको तरकारी जल्पाबाट निकासी हुँदै आएको अगुवा किसान डोलबहादुर घर्तीले बताए । गाउँमा तरकारी संकलन गरेर तानसेन बुटबल पठाउने व्यवस्था गरेपछि तरकारी उत्पादन गर्ने किसानले भोग्दै आएको बजारको समस्या हटेको हो ।

किसानले तरकारी उत्पादन गरी जल्पाको ढोलीमारामा संकलन गरेपछि बजार पठाउने काम अगुवा किसानको नेतृत्वमा हुने गर्छ । स्थानीय अगुवा चित्रबहादुर सारुका अनुसार सामान्यतया तरकारीखेतीबाट किसानले एक वर्षमा ५० हजार रुपैयाँदेखि एक लाख ५० हजार रुपैयाँसम्म आम्दानी लिन्छन् । जल्पा तरकारीमा भन्दा पनि गोलभेँडा उत्पादनका लागि नमुना क्षेत्र बन्दै गएको छ ।

प्रत्येकको घरमा एक देखि १० वटासम्म गोलभेँडा उत्पादनका लागि प्लास्ट्रिक टनेल निर्माण गरिएको अगुवा किसान घर्तीको भनाइ छ । टनेलमा बाह्रैमहिना गोलभेँडा उत्पादन हुने गर्दछ । अगुवा किसान घर्ती दशवटा टनेलबाट वार्षिक दुई तीन लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन्।

तरकारीखेती गर्ने ७३ घरपरिवारमध्ये ६० ले प्लास्टिक टनेल निर्माण गरेर गोलभेँडा उत्पादन गर्दै आएका छन् । यहाँ गोलभेँडाको अतिरिक्त बन्दा, सिमी, काउली, खुर्सानीलगायतका  उत्पादनमा वृद्धि हुँदा तरकारीमा गाउँ नै आत्मनिर्भर बन्दै गएको छ । भीमबहादुर सारु पेशाले शिक्षक हुन र उनी साँझ बिहान तरकारीखेती गरेर वार्षिक ५० हजार रुपैयाँ भन्दा बढी आम्दानी गर्छन् ।

श्रीमान् भारतमा काम गर्ने भएपनि घरमै बसेकी भिमीसरा आलेले घरखर्च र छोराछोरीको पढाइखर्च तरकारी खेतीबाट जुटाइरहेका छन् । पूर्वखोला–२ जल्पा सदरमुकाम तानसेनसँग बाह्रैमहिना सडक सञ्जालसँग जोडिँदैन । ग्रामीण सडक भएकाले वर्षाको समयमा यहाँ उत्पादित तरकारी निकासीमा समस्या आइरहन्छ ।


क्लिकमान्डु