‘स्मार्ट लाइसेन्स’ सकियो, ८० हजार नयाँ कार्ड ल्याउँदै




काठमाडौं । यातायात व्यवस्था विभागमा डिजिटल सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) अब ७ हजार मात्रै बाँकी भएको छ । ट्रायलमा पास भएका नयाँ र नवीकरणको निवेदन दिएकाहरुले दुई महिना देखि अनुमतिपत्र पाएका छैनन् ।

विभागले भारतको मद्रास सेक्युरिटिज मार्फत ८० हजार थप कार्ड ल्याउने तयारी गरेको विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए ।

‘अहिले विभागसंग स्टक ७ हजार मात्र रहेको छ, ८० हजार यहि साउनको दोस्रो सातासम्म नेपाल आउँछ,’ भट्टराईले क्लिकमाण्डुसँग कुरागर्दै भने ।

विभागले थप १ लाख ५० हजार कार्ड असोज भित्रमा ल्याउने गरी तयारी गरेको भट्टराईले जानकारी दिएका छन् । ‘असोजपछि भने अनुमतिपत्र विरतणमा समस्या हुदैन,’ भट्टराईले भने ।

विभागले २०७२ मंसिर देखि उपत्यकाका एकान्तकुना, कलंकी, चाबहिल र भक्तपुरको जगातीबाट स्मार्ट लाइसेन्स वितरण गर्दै आएको थियो ।

चारवटै कार्यालयमा दैनिक हजारभन्दा धेरै लाइसेन्सका लागि निवेदन पर्ने गरेको छ । यसअघि पनि स्टक सकिदाँ तीन महिनासम्म अनुमति विरतण रोकिएको थियो । त्यसपछि ६० हजार कार्ड विभागले ल्याएको थियो ।


क्लिकमान्डु