प्रहरीमा बढुवा आतंक, नबराज सिलवाल र रमेश खरेललाई धक्का



काठमाडौं । साउन दोस्रो सातापछिको नयाँ कार्य सम्पादन मूल्यांकन छल्न गृह मन्त्रालयले नेपाल प्रहरीमा रिक्त एआइजीदेखि एसएसपीसम्म ५१ पदमा बढुवाको सिफारिस गरेको छ ।

शनिबार सार्बजनिक बिदाको दिन पारेर गृहमन्त्री जनार्दन शर्मा र प्रहरी महनिरिक्षक प्रकाश अर्याल मिलेर एकै दिन ५१ जनाको सिफारिस गरेका हुन् । साउन ७ कटेको भए नयाँ कार्यसम्पादन मूल्यांकन अनुसार बढुवा गर्नुपथ्र्यो ।

बढुवा सिफारिस सुचीमा डिआइजी नबराज सिलवालको नाम परेन । उनी आइजीपी नियुक्ति विरुद्ध कानुनी लडाइमा छन् । उनको ब्याचमा चौथो नम्बरमा रहेका डिआइजी बमबहादुर भन्डारी एआइजीमा पहिलो नम्बरमा सिफारिस भएका छन् ।

सरकारले आइजीपीमा नियुक्त गरेपनि सर्बाेच्च अदालतको आदेशमा नेतृत्व पाउनबाट रोकिएका जयबहादुर चन्द दोस्रो नम्बरमा सिफारिस भएका छन् । तेस्रो नम्बरमा देबेन्द्र सुबेदी आएका छन् ।

एसएसपीबाट डिआइजी हुँदा सुबेदीभन्दा अगाडि रहेका पशुपति उपाध्याय चौथो नम्बरमा पुगेका छन् । सुदुरपश्चिमका डिआइजीहरुलाई एआइजी बनाउन रिक्त पद ३ बाट ११ बनाउने रणनीतिमा प्रधानमन्त्री शेरबहादुर देउवा सफल भए । उनले सम्भावित बढुवाको सुचीमा रहेका सुदुरपश्चिमका ६ जना डिआइजीमध्ये ५ जनालाई बढुवा सुचीमा पारेका छन् । बढुवा सिफारिस सुचीमा पर्नेहरुमा केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमलसिंह बम, मिगंमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्ट छन् ।

पछि परे रमेश खरेल
प्रहरी निरिक्षकदेखि एसएसपीसम्म आफ्नो ब्याचको पहिलो नम्बरमा बढुवा हुँदै आएका रमेश खरेल डिआइजीको सिफारिसमा दोस्रो नम्बरमा धकेलिएका छन् ।

उनलाई पछि पार्दै एसपीबाट एसएसपीमा दोस्रो नम्बरमा बढुवा भएका सर्बेन्द्र खनाल डिआइजीको सिफारिसमा पहिलो नम्बरमा परेका छन् ।

तेस्रो नम्बरमा एसएसपी भएका राजेन्द्रमान श्रेष्ठ शारीरिक अस्वस्थताका कारण बढुवा सुचीमा अटाएनन् । श्रेष्ठलाई प्यारालाइसिस भएको छ ।

एसएसपी पुस्कर कार्की बढुवा सिफारिसमा हाइजम्प हान्दै तेस्रो नम्बरमा पुगेका छन् । एसएसपीबाट डिआइजी बढुवा सुची प्रहरी संगठनका लागि अर्थपूर्ण छ ।

नेपाल प्रहरीको बिद्यमान प्रहरी ऐन र नियमावलीमा अवकाशको प्रावधान संसोधन नभए सिफारिस सुची अनुसार डिआइजी बन्नेमध्यबाट भावी प्रहरी नेतृत्व चुनिने छ ।

सिफारिस सुची अनुसार बढुवा भए भावी प्रहरी नेतृत्वका लागि खनाल बलियो दाबेदार बन्ने निश्चित भएको छ ।

पुष्करपछि उत्तमकुमार कार्की, भोगबहादुर थापा, पुष्कलराज रेग्मी, पवनप्रसाद खरेल, छवीलाल जोशी, मनोज न्यौपाने, ज्ञान बिक्रम शाह, ठुले राई, शरद चन्द, धिरु बस्नेत, पुष्पचन्द्र रंजित र सुरेश बिक्रम शाह सिफारिस भएका छन् ।

गृहले एसएसपीको रिक्त २५ पदमा बढुवाको लागि शनिवार नै नाम सिफारिस गरेको छ । सिफारिसमा शैलेश थापा क्षत्री, निरजबहादुर शाही, प्रधुम्न कार्की, हरिबहादुर पाल, बीरेन्द्र श्रेष्ठ, लोकेन्द्र बहादुर मल्ल, घनश्याम अर्याल,गणेश बहादुर ऐर, पुरुषोत्तम कडेल, विश्वराज पोखरेल, प्रकाशजंग कार्की, बसन्तकुमार पन्त, संजयराज शर्मा, इश्वरबाबु कार्की, दिलिपकुमार चौधरी, राजेशकुमार लालकर्ण, देबबहादुर बोहोरा, धिरजप्रताप सिंह, उत्तमराज सुबेदी, बसन्तकुमार लामा, दिवेश लोहनी सौरभ राणा, रामकृपाल साह, उमेश रंजितकार र रबिन्द्रकुमार धानुकको नाम सिफारिस गरेको छ ।


क्लिकमान्डु