एक सातामै १७ अर्बले बढ्यो बैंकहरुको निक्षेप, कर्जा १ अर्ब मात्रै




काठमाडौं । चुनाबमा खर्च भएको पैसा सिस्टममा फर्किंदा त्यसको प्रभाब बैंकहरुको निक्षेपमा देखिएको छ । पछिल्लो एक हप्तामा वाणिज्य बैंकहरुको निक्षेप १७ अर्ब रुपैयाँले बढेको राष्ट्र बैंकले जनाएको छ ।

तर, यो अवधिमा बैंकहरुले जम्मा १ अर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह गरेका छन् । लगानी योग्य पुँजी (तरलता) को चरम मारमा खेपिरहेका बैंकहरुले कर्जा विस्तार गर्न सकिरहेका छैनन् ।

त्यसो त आर्थिक वर्ष सकिन लागेकाले सरकारी खर्च पनि बढेको छ । जसले बैंकहरुको निक्षेप वृद्धिमा केही सहयोग पुर्याएको हो ।

त्यस्तै, वर्षान्तमा बैंकहरु ऋण प्रवाह गर्नुभन्दा प्रवाह भएको ऋण उठाउन केन्द्रित हुने भएकाले सामान्य अवस्थामा पनि यो समयमा कम मात्रै ऋण प्रवाह हुने गरेको छ ।

राष्ट्र बैंकका अनुसार एक हप्ताअघि असार २१ गतेसम्ममा वाणिज्य बैंकहरुले २० खर्ब १८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १६ खर्ब ९१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जबकी असार १५ गतेसम्ममा बैंकहरुले १९ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १६ खर्ब ९० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।


पुष्प दुलाल