फाप्लु विमानस्थलमा १३ दिनदेखि उडान अवरुद्ध



सोलुखुम्बु। सोलुखुम्बुको सदरमुकाममा रहेको फाप्लु विमानस्थलमा विगत १३ दिनदेखि उडान अवरुद्ध भएको छ ।

गएको १३ गते नेपाल एअरलाइन्सको एउटा उडान भएकोमा त्यसपछि विमानस्थलमा कुनै पनि उडान नभएको नेपाल एअरलाइन्स फाप्लुका निमित्त स्टेसन इन्चार्ज गणेश श्रेष्ठले जानकारी दिए ।

नियमित बाक्लो हुस्सु तथा नियमित पानी परिरहेको कारण विमानस्थलमा उडान हुन नसकेको जनाइएको छ । पछिल्लो समयमा विमानस्थल कालोपत्रे गरिएपछि धावनमार्ग हिलो हुने समस्या टरेको भए पनि मौसम खराबीका कारण उडान अवरुद्ध भएको हो ।

निर्वाचनमा मतदानका लागि जिल्ला आएका राजधानी फर्कनका लागि टिकटको अत्याधिक माग भए पनि उडान नै हुन नसक्दा यात्रु मारमा परेको श्रेष्ठले बताए ।

उता जिल्लाकै लुक्ला विमानस्थलमा पनि उडान प्रभावित भइरहेको छ । लुक्लामा बिहानीपख केही उडान हुने गरेको भए पनि आवश्यकताअनुसर उडान हुन नसकिरहेको तारा एअर लुक्लाका इन्चार्ज फुनुरु शेर्पाले बताए। उनका अनुसार दैनिक पाँच/छ वटा उडान तालिका हुने गरेको भए पनि मौसम खुलेको मौका पारेर एक/दुई उडान मात्र हुने गरेका छन् ।

चार वटा विमानस्थल रहेको भए पनि काँगेलडाँडा र स्याङबोचे विमानस्थल लामो समयदेखि बन्द रहँदा लुक्ला र फाप्लु विमानस्थल मात्र सञ्चालनमा रहेका छन् ।

फाप्लु विमानस्थल बन्द हुँदा यात्रुको चाप जिपमा परेको छ । अहिले सल्लेरीबाट राजधानी जाने जिपमा समेट टिकट पाउन मुस्किल पर्ने गरेको छ ।

यसअघि सल्लेरी–काठमाडौँ जिप भाडा एक हजार २०० रुपैयाँ रहेकोमा अहिले एक हजार ८०० रुपैयाँ सम्म असुल्ने गरेको एक जना यात्रु शिव खड्काले बताए ।

व्यवसायीले भने वर्षात्का कारण जिप सञ्चालनमा समस्या हुने गरेकाले भाडा केही बढी लिने गरेको बताएका छन् ।


क्लिकमान्डु