वैदेशिक रोजगारीबाट फर्केका युवाले गरे व्यावसायिक माछापालन
गोरखा। वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा बसेर फर्किएका युवाले गोरखाको देउरालीस्थित तीन किलोमा र मनकामनाको कल्लेरीमा व्यावसायिक माछापालन सुरु गरेका छन् ।
तीन किलोमा ‘सहारा कृषक समूह’ र मनकामनामा ‘लाफा नमुना’ कृषक समूह गठन गरी युवाले माछापालन, सुँगुरपालन, केराखेती र तरकारीखेती गर्दै आएका छन् ।
सोह्रजना युवक मिलेर सहारा कृषक समूहमार्फत १३ वटा पोखरीमा माछापालन गरिएको समूहका अध्यक्ष सुरज आलेले बताए। यीमध्ये आठजना वैदेशिक रोजगारीमा गएर स्वदेशमै केही व्यवसाय गर्ने अठोटका साथ फर्किएका हुन् । कमन कार्फ, सिल्भर कार्फ, बिग हेड र रघुनौनी जातका माछापालन गरिएको उपाध्यक्ष रमेश थापाले जानकारी दिए ।
यहाँ वर्षमा दुई पटक माछा उत्पादन गर्ने गरिन्छ ।
‘बजारमा पठाउँदा प्रतिकेजी ३०० रुपैयाँमा पठाइन्छ भने एक/दुई किलो बेच्दा प्रतिकेजी ४०० रुपैयाँ पर्छ,’ थापाले भने ।
आँबुखैरेनी, गोरखा, मनकामना, मुग्लिन, पोखरा, चितवन जस्ता सहरमा माछा बिक्री गर्न लगिन्छ । विदेशमा दुःख गर्दा पनि सोचेजस्तो कमाइ नभएको तर कम दुःखमै स्वदेशमा मनग्य आम्दानी भएको ती युवा बताउँछन् ।
व्यावसायिक कृषि उत्पादनमा जुटेका युवालाई जिल्ला कृषि विकास कार्यालयले पनि केही अनुदान सहयोग उपलब्ध गराएको छ । पोखरी खन्न कार्यालयबाट एक लाख ४० हजार रुपैयाँ प्राप्त भएको थापाले बताए । पोखरीको सङ्ख्या वृद्धि गरी थप माछापालन गर्ने तयारीमा उनीहरु जुटिरहेका छन् । अहिलेसम्म ३० लाख रुपैयाँ भन्दा बढी लगानी भइसकेको छ ।
यस्तै, विदेशबाट फर्किएका युवा कल्लेरीमा पनि लाफा नमुना कृषक समूह गठन गरेर व्यावसायिक कृषि उत्पादनमा जुटेका छन् । समूहमा दश जनामध्ये आठजना साउदी, कतारलगायत देशमा काम गरेर फर्किएका युवा छन् । समूहका अध्यक्ष शिवराना मगरकाअनुसार ६ रोपनी क्षेत्रफलमा नौवटा माछापोखरी, कुखुरापालन, १० रोपनी क्षेत्रफलमा घिरौंला, करेलालगायतका मौसमी/बेमौसमी तरकारीखेती र सात रोपनीमा केराखेती गरिएको छ ।
अर्का कृषक झक्कल थापाका अनुसार स्थानीय जातका सुँगुरपालन पनि सुरु गरिएको छ । यस्तै, तरकारीखेती र माछापालन वृद्धि गर्ने तयारी पनि गरिएको छ । उनीहरुमा धनबहादुर थापा र कुलबहादुर थापाले क्रमशः तरकारी खेतीको रेखदेख र कुखुरापालन व्यवसाय हेर्दैआएका छन् । समूहका सदस्यलाई एक/एकवटा कामको जिम्मेवारी तोकिएको छ । बजार प्रवद्र्धन गर्ने र हरहिसाब दुरुस्तै राख्ने काम समूहकै सदस्यले गर्छन् ।
सडतीस रोपनी जग्गा भाडामा लिएर युवाले एकवर्ष अघिदेखि कृषि व्यवसाय गर्दैआएका हुन् ।
‘अहिलेसम्म एक करोड रुपैयाँ लगानी गरिसकियो । विदेशमा कमाएको रकम, मनकामनाको साना किसान वित्तीय संस्थाबाट लिएको ५० लाख रुपैयाँ ऋण र जिल्ला कृषि विकास कार्यालयबाट पाएको अनुदान सहयोगले व्यवसाय अघि बढाउँदैछौं,’ थापाले भने ।
तरकारीखेती सिँचाइका लागि सौर्य ऊर्जाबाट चल्ने पानी तान्ने मेसिन राखिएको छ । यसका लागि थोपा सिँचाइ कार्यक्रम मार्फत ३० हजार रुपैयाँ र माछापोखरी निर्माणका लागि ५० हजार रुपैयाँ अनुदान कार्यालयबाट उपलब्ध गराएको वरिष्ठ कृषि विकास अधिकृत यामकुमार श्रेष्ठले जानकारी दिए।
यसवर्ष ६० वटा पोखरी निर्माण गर्न कार्यालयले अनुदान दिएको थियो । बजारमा माछाको माग बढ्दै गएपछि कृषक व्यवसायिक माछापालनमा जुटेका हुन् ।