आइकाको टोली नेपालमा, सरकारी उच्च अधिकारी विदेशमा, कालोसूचीबाट हट्ला नेपाल ?



 

काठमाडौं । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को टोलीलाई नेपालको हवाई क्षेत्रको अडिट गर्न बोलाएर नेर्तृत्व गर्ने मुख्य जिम्मेवारी बोकेका नेर्र्तृत्वकर्ता भने विदेश भ्रमणमा गएका छन् । आइकाओले सुधार गर्न दिएको विषयमा सुधार गर्न नसकेपछि नेपाली हवाई आकाशलाई युरोपेली अयोगले विगत ४ वर्ष देखि कालो सूचीमा राख्दै आएको छ ।

आइकाओले नेपाललाई ‘सिग्निफिकान्ट ‘सेफ्टी कन्सर्न’ (एसएससी) मा राखेको छ । उक्त सूचीबाट नहटेसम्म युरोपेली आयोगले कालो सूचीबाट हटाउने छैनन् । जसका कारण युरोप उडान भर्न तयारी अवस्थामा रहेको नेपाल वायुसेवा निगमलाई असर पर्ने निश्चत छ ।

टोलीले आज असार २० देखि २७ गतेसम्म नेपालको हवाई क्षेत्रको बारेमा अडिट गर्ने छ । टोलीले नागरिक उड्डयन प्राधिकरण सहित केही एयरलाइन्सहरुको समेत अडिट गर्ने छ ।

नेपाललले हवाई सुरक्षाको क्षेत्रमा पछिल्लो चारवर्षमा व्यापक सुधार गरेको दावी गरिरहेको वेला अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को टोली ४ वर्षपछि नेपालको हवाई क्षेत्रको अडिटको लागि नेपाल आएको बेलामा भने नेर्तृत्वको चरम बेवास्ता गरेको पाइएको छ ।

आइकाओको टोलीलाई अडिटको लागि नेपाल बोलाएर प्राधिकरणका महानिर्देशक सञ्जिव गौतम म्यानमार गएका छन् । गौतमले अडिटको वेला चासो दिएर नेपाललाई कालो सूचीबाट हटाउन विशेष पहल गर्नुपर्नेमा गौतम शनिवारनै म्यानमार उडेका छन् ।

उक्त सेमिनारमा अधिकृत तहका कर्मचारी पठाए हुनेमा गौतम महत्वपूर्ण समयमा म्यानमार गएको प्राधिकरण स्रोतले जानकारी दिएको छ । उक्त विषयलाई नेर्तृत्वको गैरजिम्मेवारी भएको भन्दै प्राधिकरणकै उच्च अधिकारी असन्तुष्ट छन् ।

यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा मन्त्री समेत नभएकोवेला सचिवले नेर्तृत्व गर्नुपर्नेमा सचिव शंकर प्रसाद अधिकारी समेत मंगलबार राती कतार एयरवेज मार्फत पोल्यान्ड जादै छन् । “यसबाट नेपालको हवाई क्षेत्रमा काम गर्ने मुख्य जिम्मेवार निकायहरु कति जिम्मेवार छन भन्ने प्रष्ट हुन्छ,” स्रोतले भन्यो । नेर्तृत्वको बेवास्तका कारण यसपटक पनि नेपाललाई आइकाओले एसएससी सूचीबाट हटाउने सम्भावना एकदमै न्यून रहेको प्राधिकारण अधिकारीहरुको दावी छ ।

आइकाओको दुई सदस्यीय टोलीले शनिवार आएको थियो । तर महानिर्देशक गौतम शनिवार आइकाओको टोलाई स्वागत समेत नगरी म्यानमार उडेको स्रोतले जानकारी दिएको छ । टोलीले आज मंगलबार देखि नेपालको अडिट सुरु गर्नेछन् । टोलीले मगलबार (आज ) असार २० देखि २७ गतेसम्म नेपालको हवाई क्षेत्रको बारेमा अडिट गर्ने छ । टोलीले नागरिक उड्डयन प्राधिकरण सहित केही एयरलाइन्सहरुको समेत अडिट गर्ने छ ।

आइकाओका क्याप्टेन (पाइलट) भोउड्री युजेनी र एरोनटिकल इन्जिनियर एडमन्ड बोहल्यान्ड नेपाल आएका छन । उनीहरु आइकाओका ‘सेफ्टी ओभरसाइट’ शाखाका उच्च अधिकारीहरु हुन ।

यसअघि सन् २००९ मा नेपालको अडिट गर्न आइकाओको टाली नेपाल आएको थियो । उनीहरुले दिएको ८ वटा सुझाव दिदै तत्काल सुधार गर्नको नागरिक उड्डयन प्राधिकरणलाई आइकाओले चेतावानी दिएको थियो ।

आइकाओको टोली सन् २००९ कै अडिटको ‘फलोअप’ भन्दै सन् २०१३ को जुलाईमा नेपाल आएको थियो । अघिल्लो पटकको अडिटमा सुधारका लागि दिइएको सुझाव कार्यन्वयन नभएको भन्दै नेपाललाई सन् २०१३ पछि आइकाओको एसएससी लिस्टमा राखेको थियो ।

आइकाओले नेपाललाई सन् २०१३ मा राखेको एसएससी लिस्टको आधारमा युरोपेली आयोगले नेपाली हवाई आकाशलाई ‘हवाई सुरक्षा सूची’ मा राख्दै आएको छ ।


क्लिकमान्डु