काभ्रेको फलामेमा १५० वटा भूकम्प प्रतिरोधी घर स्थानीयलाई हस्तान्तरण



काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. गोविन्दराज पोखरेलले जस्तो सुकै राजनीतिक दवाव आएपनि मापदण्ड बिपरित बनेका घरलाई सरकारी अनुदान दिन नसकिने स्पष्ट पारेका छन् ।

काभ्रेको पनौतीस्थित फलामेमा सामारिथान्स पर्स इन्टरनेशनल रिलिफले निर्माण गरेका १ सय ५० वटा भूकम्प प्रतिरोधी घर हस्तान्तरण कार्यक्रमलाई सोमवार सम्वोधन गर्दै सिइओ पोखरेलले भविष्यमा आफ्नै पुस्तालाई क्षति पुग्ने गरि कमजोर संरचना निर्माणमा कसैले पनि सम्झौता गर्न नहुने बताए ।

सरकारको मापदण्ड र प्रक्रिया पुरा गर्ने लाभग्राहीले सरकारबाट निजी आवास निर्माणमा ३ लाख रुपैयाँ अनुदान पाउदै आएका छन् ।

‘आवास निर्माणमा पैसाको कमी छैन, इन्जिनियर साथीहरु गाँउगाँउमा हुनुहुन्छ, जनताले आफ्नो घर आफैँ बनाउने हो, त्यसैले अनुदान लिएर दिगो संरचनामा निर्माणमा बिशेष ध्यान दिनहोस्,’ पोखरेलले भने ।

अबको बर्खा सकिने बेलासम्म करिब डेढ लाख घर निर्माण भइसक्ने दावी गर्दै पोखरेलले स्थानिय जनप्रतिनिधीसँग समन्वय गरेर जनताले पुननिर्माणको नेतृत्व लिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा काभ्रेका प्रमुख जिल्ला अधिकारी शिव सिंखडाले निजी आवास पुननिर्माणमा कुनै कुराको कमी नभएको भन्दै आफ्नो घर आफैँ बनाउन जनता अग्रसर हुनुपर्ने बताए ।

‘सवै कुरामा सरकारको मुख ताकेर हुँदैन, जनतालाई ३ लाख अनुदान दिएर राज्यले आफ्नो उपस्थिती देखाउने हो, तर घर निर्माण जनताले नै गर्ने हो,’ सिंखडाले भने ।

झुठो विवरण देखाएर अनुदान लिने तर घर नबनाउनेलाई राज्यले कारवाही गर्ने भन्दै उनले जिल्लामा कतिपय गैर लाभग्राहीले पहिलो किस्ता फिर्ता गरिरहेको जानकारी दिए ।

पनौती नगरपालिकाका मेयर भीम न्यौपानेले पुनर्निर्माणका लागि आवश्यक समन्वय गरेर सवैले संरचना निर्माणमा जोड दिएर अघि बढ्ने उल्लेख गरे ।

पनौतीस्थित फलामेमा १ सय ४७ वटा अर्थब्याग घर र थप ३ वटा नमुना घर निर्माण गरेको उक्त संस्थाले मेथिनकोटमा थप २ सय ३ ओटा अर्थब्याग घर निर्माण गरिसकेको छ ।


क्लिकमान्डु