निगमको बोइङ मर्मत गर्न सिङ्गापुर लगिँदै



काठमाडौँ। अन्तर्राष्ट्रिय उडान भर्दै आएका नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का एक मात्र बोइङ कलसाइन ९ एनएसिबी मर्मत गर्न सिङ्गापुर लगिने भएको छ ।

एक साता बढीदेखि ग्राउन्डेड रहेका उक्त बोइङको मर्मत गर्न करिब ४५ देखि ६० दिन लाग्न सक्ने निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले राससलाई जानकारी दिए । उनका अनुसार यकिन मिति तय नभए पनि आगामी असार ३० र ३१ गतेका दिन बोइङ सिङ्गापुर लगिनेछ ।

उक्त बोइङको सट्टामा निगमले भुटानबाट लिजमा विमान ल्याउने तयारी गरेको छ । भुटान एयरलाइन्सको विमान भाडामा ल्याएर सेवा दिने प्रवक्ता श्रेष्ठले बताए ।

निगमले एक बोइङ र दुई एयरबसबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएकोमा पछिल्लो केही दिनयता एक मात्र बोइङ ग्राउन्डेड भएको थियो । नेपालमै मर्मत गरे पनि नबनेपछि थप मर्मतका लागि उक्त बोइङलाई सिङ्गापुर लगिने भएको हो ।

निगमले अर्को पुरानो बी७५७–२०० ९ एन–एसिए विमान बिक्रीका लागि पटक–पटक ‘ग्लोबल टेन्डर’ आह्वान गरिसकेको छ । निगमले हाल आठ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ ।

 


क्लिकमान्डु