‘जग्गा बाँझो राख्न नपाइने’



बेँसीसहर। उत्तरी लमजुङमा रहेको मस्याङ्दी गाउँपालिकाको पहिलो बैठकले गाउँपालिकाभित्र जमिन बाँझो राख्न नपाइने निर्णय गरेको छ । बुधबार बसेको पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।
गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा बसेको सो बैठकले गाउँपालिकाभित्र रहेको जमिनको अधिकतम उपयोग गरी आर्थिक प्रवद्र्धनमा टेवा पुर्याउन विशेष प्राथमिकताका साथ भू–उपयोग नीति अवलम्बन गर्ने निर्णय गरेको हो ।
बैठकले गाउँपालिकाबाट प्रवाह गरिने सेवाहरु र प्रशासनिक कामलाई छिटोछरितो र व्यवस्थित बनाउन कार्यालय र सम्पूर्ण वडा कार्यालयलाई सूचना प्रविधिमैत्री बनाउने निर्णय पनि गरेको छ ।
पहिलो बैठकमा गरिएको १७ बुँदे निर्णयमा  एक गाउँ एक ल्यान्ड फिल्ड साइड निर्माण, पञ्चवर्षे गुरुयोजना निर्माण, विभिन्न क्षेत्रका विशेषज्ञ, राजनीतिज्ञ, परामर्शदातासँगको अन्तक्र्रिया, पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि वृत्तचित्र निर्माण र प्रचारप्रसार, समयको व्यवस्थापनलगायत विद्युत् र टेलिफोन सेवामा भएको समस्यालाई सम्बोधन गर्ने निर्णय गरिएको छ ।


पुष्प दुलाल