धोवीखोला कोरिडोरको निर्माणलाई तीव्रता दिन सहरी विकासमन्त्रीको निर्देशन



काठमाडौँ। सहरी विकासमन्त्री प्रभू साहले धोवीखोला कोरिडोरको निर्माण कार्यलाई समन्वय गर्दै अघि बढाउन निर्देशन दिएका छन् ।

सहरी विकास मन्त्रालयमा बुधवार बसेको बैठकमा कोरिडोरमा ढल निर्माण गर्ने काम ढिलो भई सडक कालोपत्र गर्ने काम लम्बिएको विषय उठेपछि मन्त्री शाहले निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिएका हुन्।

ढल निर्माण गर्ने जिम्मा पाएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले कालो पुल हटाउन नसक्दा, बाटोका रहेका बिजुलीका खम्बाको व्यवस्थापन नहुँदा र सडकको लेबल थाहा नहुँदा काम अघि बढ्न नसकेको जानकारी दिएको थियो ।

समितिका सदस्यसचिव ज्योतिकुमार श्रेष्ठले मन्त्रालय मातहतका निकायबीच नै समन्वयको कमी भएकाले काम नभएको भन्दै पटक पटक ती विषयमा ताकेता गर्दा पनि सुनुवाइ नभएको गुनासो गरे ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणका विकास आयुक्त डा भाइकाजी तिवारीले समितिले तीन वर्षसम्म पनि ढल निर्माण गर्न नसक्दा सडक कालोपत्र हुन नसकेको बताए ।

‘काम सुस्त भयो, कालो पत्र गर्ने बेलासम्म ढलको व्यवस्थापन हुन सकेको छैन,’ उनले भने, ‘आगामी भदौसम्म ढल निर्माण गरिसक्ने र असोजमा कालोपत्र गर्ने भन्ने आजको बैठकले निष्कर्ष निकालेको छ ।’


क्लिकमान्डु