इसेवाले पायो राष्ट्रबैंकद्धारा डिजिटल वालेटको लाइसेन्स



काठमाडौं । पेमेन्ट गेटवे कम्पनी इसेवा फोन पे.प्रा.लि.ले पेमेन्ट गेटवे सेवा प्रदायकको लाईसेन्स प्राप्त गरेको छ । इसेवालाई मंगलबार राष्ट्रबैंकले लाइसेन्स प्रदान गरेको हो ।

राष्ट्रबैंकले इसेवालाई राष्ट्रबैंक भुक्तानी तथा फछ्र्यौट विनियमावली २०७२ को विनियम १९ ले दिएको अधिकार प्रयोग गरी राष्ट्रबैंकबाट जारी शर्त तथा निर्देशनको अधीनमा रही दुरसञ्चार सञ्जालको माध्यमबाट डिजिटल वालेट (ग्राहक र सेवाप्रदायकको बिचमा मध्यस्तता गरी भुृक्तानी गरिदिने र स्वदेशमा गरिने मनि ट्रान्स्फर गर्ने) कार्य गर्न भुक्तानी तथा फछर्यौट अनुमति नीति २०७३ बमोजिम लाइसेन्स प्रदान गरेको कम्पनीले जानकारी दिएको छ ।

‘हामीले अबदेखि अझ व्यवस्थित र जिम्मेवार तरिकाले इसेवालाई तिब्र रूपामा विकास गर्छौ, क्यासलेस कारोबार बनाउने राष्ट्रबैंकको नीतिलाई सफल बनाउने गरी हाम्रो सेवाको पहुँच बढाउँछौ,’ राष्ट्रबैंकबाट लाइसेन्स् प्राप्त भएपछि इसेवाका प्रमुख कार्यकारी अधिकृत अस्गर अलीले भने ।
इसेवा नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी भएको दाबी गरिएको छ । विगत सात वर्षदेखि सञ्चालनमा रहेको इसेवाले नेपालका ७५ वटै जिल्लामा सेवा दिँदै आएको छ । मोबाईल तथा इन्टरनेटबाट भुक्तानी गर्न सकिने इसेवाका मुलुकभर २५ हजार बढि जोन पोइन्ट रहेका छन् ।

इसेवाको मोबाईल एप्स् डाउनलोड गरी इसेवा चलाउनेको संख्या डेढ लाख छ भने इन्टरनेट मार्फत् इसेवा चलाउनेको संख्या ८ लाख रहेको छ । यसैगरी जोन पोइन्टमार्फत् अप्रत्यक्ष रूपमा इसेवा प्रयोग गर्नेको संख्या ५० लाख नाघेको कम्पनीले जानकारी दिएको छ ।


क्लिकमान्डु