भूकम्पले क्षतिग्रस्त ११ सय गुम्बा/बिहार पुनर्निर्माणको कार्यविधि पारित



काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट प्रभावित गुम्बा/बिहारहरुको संरक्षण, जीर्णाेद्वार तथा पुनर्निर्माण सम्बन्धी कार्यविधि, २०७४ स्वीकृत गरेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको शुक्रवार बसेको कार्यकारी समितिको वैठकले भूकम्पबाट प्रभावित गुम्बा÷विहारहरुको संरक्षण, जीर्णाेद्वार तथा पुनर्निर्माण सम्बन्धी कार्यविधि २०७४ स्वीकृत गरेसँगै २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएका करिब ११ सय गुम्बा तथा बिहार पुनर्निर्माण गर्ने बाटो सहज भएको छ ।

यो कार्यविधि भूकम्पबाट प्रभावित सय वर्ष नपुगेका सार्वजनिक गुम्बाहरुको संरक्षण, जीर्णोद्धार तथा पुनर्निर्माण कार्यका लागि मात्र लागू हुनेछ । भूकम्पले करिब १३ सय गुम्बा तथा बिहार क्षतिग्रस्त भएपनि त्यस मध्ये ११ सय गुम्बा/बिहार सय बर्ष नपुगेका छन् ।

सय बर्ष पुगेका सम्पदा पुनर्निर्माणका लागि प्राचिन स्मारक संरक्षण ऐन २०१३ अनुसार पुरातत्व विभागले पुनर्निर्माण गर्ने प्रावधान छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले यो कार्यविधि लागू भएसँगै भूकम्प गएको लामो समय हुँदा पनि पुनर्निर्माण हुन नसकेका गुम्बा तथा बिहारको पुनर्निर्माणले तिव्रता पाउने बताए ।

‘कार्यविधि नहुँदा गुम्बा तथा बिहारको पुननिर्माण कसरी अघि बढाउने भन्ने अन्यौल थियो, अव सय बर्ष नपुगेका करिब ११ सय गुम्बा/बिहार पुनर्निर्माण द्रुत गतिले अघि बढ्नेछ,’ पोखरेलले भने ।

कार्यविधि अनुसार पुननिर्माण गर्दा जोखिमयुक्त गुम्बा÷बिहारहरुलाई पहिलो प्राथमिकता र अन्य गुम्बाहरुलाई क्रमशः क्षतिको स्तर बर्गीकरण गरी सोही बमोजिम गर्नुपर्नेछ । भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माण सम्बन्धी कार्य सार्वजनिक खरिद कार्यविधि, २०७२ बमोजिम गरिनेछ ।

कार्यविधिले गुम्बा/विहारहरुको पुनर्निर्माण गर्दा लैङ्गिक, अपाङ्गता एवं वालमैत्री हुनु पर्ने समेत व्यवस्था गरेको छ ।


क्लिकमान्डु