बेदकोटमा भ्यू टावर निर्माण कार्य सुरु



कञ्चनपुर । आन्तरिक तथा बाह्य पर्यटक भित्रियाउने उद्देश्यले कञ्चनपुरको बेदकोट ताल क्षेत्रमा भ्यू टावर निर्माण कार्य सुरु गरिएको छ ।

६० लाख रुपैयाँको लागतमा निर्माण हुने उक्त टावर छ तलेको हुनेछ ।

कुल लागतमध्ये बेदकोट नगरपालिकाको ३० प्रतिशत र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको ७० प्रतिशत रहेको नगरपालिकाका प्राविधिक सहायक सिद्धराज ओझाले बताए ।

भ्यू टावर निर्माणको कार्य असार मसान्तभित्रै सम्पन्न गर्ने गरी निर्माण भइरहेको उनले बताए । टावर निर्माणपछि ताल क्षेत्रको दृश्यावलोकन गर्नुका साथै तराई क्षेत्रको हरियाली मनोरम दृश्य नियाल्न सकिने छ ।

बेदकोट क्षेत्र जिल्ला सदरमुकाम महेन्द्रनगरबाट २२ किलोमिटर टाढा रहेको छ । यो क्षेत्र आन्तरिक पर्यटकका लागि वनभोजस्थल रुपमा र बाह्य पर्यटकका लागि तराईको मनोरम दृष्य नियाल्नका लागि प्रख्यात छ ।

बेदकोट क्षेत्र बाह्य कोलाहलबाट टाढा रहेकाले एकान्तमा रम्न चाहनेहरुका लागि गतिलो गन्तव्यका रुपमा रहेको छ ।

परापूर्वकालमा वनवासका क्रममा पाण्डवहरुले यस क्षेत्रमा आएर बेदधुनि जगाएकाले यस क्षेत्रको नाम बेदकोट रहन गएको जनश्रुति छ । यो क्षेत्र प्राचिनकालमा ऋषिमुनिहरुको तपोभूमिका रुपमा समेत परिचित रहेको थियो ।


क्लिकमान्डु