नेपाल प्रहरीले लागू गर्यो डिजिटल सिग्नेचर पद्धति




काठमाडौं । नेपाल प्रहरीको कार्यालय सञ्चालन पद्धतिलाई ब्यवस्थित र प्रभावकारी बनाउन विद्युतीय कारोबार ऐन, २०६३ को अधिनमा रही डिजिटल सिग्नेचर पद्धति विधिवत संचालनमा आएको छ ।

प्रहरी महानिरीक्षक प्रकाश अर्यालले बिहिबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा महानगरीय प्रहरी कार्यालय र पाँच वटै क्षेत्रीय प्रहरी कार्यालयहरुमा डिजिटल सिग्नेचर सहितको सञ्चार पठाई यो पद्धतीको विधिवत उदघाटन गरेका हुन् ।

प्रहरी महानिरीक्षक अर्याललाई नेपाल सर्टिफाइङ कम्पनी प्रालि थापाथलीका प्रबन्ध निर्देशक पुरुषोत्तम घिमिरेले ७ थान डिजिटल सिग्नेचर किट सोही अवसरमा हस्तान्तरण गरे ।

प्रहरी महानिरीक्षक अर्याल लगायत बरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थितिमा प्रहरी प्रधान कार्यालयमा उक्त प्रालिका किसन पाण्डेले डिजिटल सिग्नेचरको प्रयोग सम्बन्धमा प्रस्तुतीकरण समेत गरेका थिए ।

हाल प्रहरी प्रधान कार्यालय, महानगरीय प्रहरी कार्यालय र पाँच वटै क्षेत्रीय प्रहरी कार्यालयहरुमा सञ्चार आदान प्रदानका लागि डिजीटल सिग्नेचरको प्रयोग हुनेछ ।

उक्त समारोहमा प्रहरी प्रधान कार्यालय सञ्चार निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक डा. राजीब सुब्बाले धन्यबाद ज्ञापन गरेका थिए ।

नेपाल प्रहरीमा इ–मेल, इन्टरनेट र लेसपेपर प्रणालीको प्रयोग गरी अधिकांश पत्रहरु आदान प्रदान गरी सूचना व्यवस्थापन गर्दै आएकोमा यस प्रकारको सेवाको सत्यतथ्य प्राविधिक रुपमा थाहा पाउन नसकिने र अनाधिकृत तरीकाले नक्कली पत्र पठाए पनि अफिसियल भएको भ्रम पर्न सक्ने जस्ता चुनौतीलाई हटाई कार्यालय सञ्चालनमा सुरक्षा र आधिकारिक पक्षलाई विश्वसनीय बनाउन डिजिटल सिग्नेचरको प्रयोग अपरिहार्य भएकोले यसको विधिवत सुरुवात गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

डिजिटल सिग्नेचर पद्धतीलाई व्यवस्थित बनाउन नेपाल प्रहरीका प्रशासन तथा सञ्चारतर्फका ४० जना प्रहरी अधिकृत तथा जवानहरुलाई उक्त प्रालिका प्रशिक्षकहरुबाट १÷१ दिनको प्रशिक्षण समेत प्रदान गरिएको छ ।


क्लिकमान्डु