जोखिमयुक्त वस्तीमा अव पूर्वाधार नबन्ने



काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्धारा जोखिमयुक्त भनी पहिचान भएका बस्तीमा आगामी आर्थिक वर्षदेखि पूर्वाधार निर्माणसम्बन्धी कार्यक्रम नलैजाने विषयमा छलफल भएको छ । त्यस्ता जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा सार्ने प्रक्रिया सुरु भएसँगै अब ती स्थानमा नयाँ पूर्वाधार निर्माण नगर्ने सहमति भएको हो ।

बिहीबार प्राधिकरण तथा खानी तथा भूगर्भ विभाग, भू तथा जलाधार विभाग, जलउत्पन्न प्रकोप नियन्त्रण विभाग, सडक विभाग तथा सिंचाइ विभागका प्रतिनिधिबीच भएको छलफलमा यस्तो सहमति भएको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिए ।

प्राधिकरणले हालसम्म १३६ वस्ती स्थानान्तरण गर्नुपर्ने भनी निक्र्योल गरेको छ । ती बस्तीमा २३ सय ६१ घरधूरी रहेका छन् । गोरखाको केरौंजाबाहेकका बस्तीमा एक सयभन्दा कम घरधुरी छन् ।

यस्ता जोखिमयुक्त बस्तीहरु अति प्रभावित जिल्लाहरु रसुवा, नुवाकोट, गोरखा, सिन्धुपाल्चोक, दोलखा, धादिङ, ललितपुर, मकवानुपर, काभ्रेपलाञ्चोक, रामेछाप र ओखलढुंगामा छन् । त्यसैगरी कम प्रभावित चितवन, लमजुङ, सोलुखुम्बु र तनहुँमा पनि स्थानान्तरण गरिनुपर्ने वस्ती छन् ।

यीमध्ये कतिपय वस्तीका सबै घरधुरी स्थानान्तरण गर्नुपर्ने अवस्था छ भने कतिपयमा केही घरमात्र स्थानान्तरण गरे हुने स्थिति छ ।
यी बस्तीमध्ये केहीमा स्थानान्तरणको प्रक्रिया सुरु भइसकेको छ । केहीलाई स्थानन्तरण गरेर एकीकृत वस्ती निर्माण गर्ने प्राधिकरणले निर्णय गरि काम अघि बढाएको छ ।

प्राधिकरण तथा खानी तथा भूगर्भ विभागले ६६० भन्दा बढी बस्तीको अध्ययन गरि १३६ लाई जोखिमयुक्त भनी किटान गरेको हो ।


क्लिकमान्डु