४५ करोड रुपैयाँको लागतमा धौलीगाड खानोपानी आयोजना



जुम्ला। कर्णालीकै गौरवको आयोजना मानिने ‘धौलीगाड खानेपानी आयोजना’ निर्माण हुने भएको छ ।

दुई वर्षअघि ड्रिम जिओ ल्याब कन्सल्टेन्सीद्वारा तयार गरिएको डिपिआर अनुसार ४५ करोड १९ लाख ८८ हजार ९२ रुपैयाँको लागतमा बन्ने सो आयोजनाको लागत पनि बढ्ने भएको छ । सो कन्सल्टेन्सीले तयार गरेको प्रतिवेदन मस्यौदामा पुनः सर्भेक्षण हुन लागेकाले लागत बढने भएको  जिल्ला खानेपानी तथा सरसफाइ सव–डिभिजन कार्यालयका प्रमुख टङ्कबहादुर सोडारीले जानकारी दिए ।

‘अब ल्यान्डेक्स भन्ने कन्सल्टेन्सीले आयोजनाको डिपिआर गर्दैछ । यसमा लागत बढेर आउने निश्चित भएकोले आगामी आर्थिक वर्षबाट काम सुरु हुनेपक्का भएको छ,’ उनले भने।

मुख्य आयोजना अन्तर्गत चन्दननाथ नगरपालिका– २,३ र ८ वडाका क्रमशः भण्डारीगाउँ, ढाणथपला–१ र ढाँणथपला– २ र कोटिलागाउँ खानेपानी तथा सरसफाइ उपआयोजनाको निर्माणकार्य सञ्चालन भइरहेको कार्यालय प्रमुख सेडारीले उल्लेख गरे।

करिब ५० लाख रुपैयाँको लागतमा निर्माण भएको भण्डारीगाउँ खानेपानी उपआयोजनामा ३८ हजार लिटर क्षमताको ट्याङ्की निर्माण भएको र कोटिला उपआयोजनाको निर्माणकार्य अन्तिमचरणमा पुगेको छ । गुठीचौर गाउँपालिका– ५ बिगारे खानेपानी तथा सरसफाइ उपआयोजना सुरु हुने तयारीमा कार्यालय प्रमुख सेडारीको भनाइ छ ।

यहाँस्थित सव–डिभिजन कार्यालयका सव–इञ्जिनियर लक्ष्मीबहादुर भण्डारीले ‘एक घर, एक धारा’ बाट भण्डारीगाउँका दुई सय घरधुरी लाभान्वित हुने बताए । निर्माणाधिन ढाँणथपलाका दुई वटा उपआयोजनाको पाइपलाइन निर्माणका लागि ४३ लाख रुपैयाँ निकासा भइसकेको र एक लाख लिटर पानी क्षमताका लागि एकसय घनमिटरको ट्याङ्की बनाउन थप ३५ लाख लाग्ने सव–इञ्जिनियर भण्डारीले बताए।

‘तातोपानी र गुठीचौर गाउँपालिका तथा चन्दननाथ नगरपालिका, धौलीगाड मुख्य खानोपानी आयोजना क्षेत्रभित्र पर्दछन् र यसबाट ४३ हजार ५५५ जना लाभान्वित हुने देखिन्छ,’ उनले भने।

पछिल्लो समयमा उपआयोजनाबाट निर्माणकार्य सुरु गरिएकाले आयोजनाको काममा तीव्र भएको र  प्रगतिपनि राम्रै देखिएको उनको भनाइ छ ।


क्लिकमान्डु