पोल गाडेको पाँच वर्षमा दुर्गममा बिजुली बल्यो



पाल्पा । बिजुलीको पोल गाडेको पाँच वर्षमा बिजुली बत्ती बलेपछि दुर्गमका स्थानीयवासीमा खुसियाली छाएको छ । रामपुर नगरपालिकाको दुर्गम र अति विकट क्षेत्र वडा नं ३ र ४ का विभिन्न स्थानमा बिजुली बत्ती विस्तार गरिएको छ ।

नगरपालिकाको केन्द्रबाट झन्डै तीन घन्टाको पैदलमा पुगिने विकट क्षेत्र गैलुक, लामटाङ र लाँकुरीमा बिजुली बत्ती बलेपछि गाउँ नै यतिबेला उज्यालोमय बनेको छ । वर्षौंदेखि टुकी बालेर जीवन गुजारा चलाएका यहाँका स्थानीय बासिन्दालाई टुकी र लालटिन बाल्ने झन्झट सदाका लागि अन्त्य भएको छ ।

मोबाइल, लाइट चार्ज गर्नका लागि दैनिक दुई÷तीन घन्टाको पैदल हिँडेर अन्यत्र गाउँमा गएर जीवन चलाउँदै आएका यहाँका स्थानीय बासिन्दा यतिबेला खुसियालीमा छन् ।

साबिक दर्छा गाविसको रु पाँच लाख सहयोग, जिविस पाल्पाको ११ लाख रुपैयाँ, विद्युत् प्राधिकरण केन्द्रबाट १३ लाख रुपैयाँ, स्थानीय उपभोक्ताबाट उठाइएको १० लाख ५० हजार रुपैयाँ र स्थानीयवासीको जनश्रमदानबाट नौ लाख ५५ हजार ५०० रुपैयाँ गरी जम्मा ४९ लाख पाँच हजार ५०० रुपैयाँको लागतमा विद्युत् विस्तार गर्न सफल भएको विद्युत् विस्तार समितिका लागि सचिव रुद्र नेपाली बताउँछन् ।

विद्युतीकरणबाट यस क्षेत्रका १८२ घरधुरीका स्थानीय बासिन्दा लाभान्वित भएका छन् । यहाँ बिजुली बलेपछि बत्ती बाल्न, खाना पकाउन, मोबाइल, लाइट चार्ज गर्न, टिभी हेर्न, रेडियो बजाउने सेवासुविधा उपभोग गर्न पाएपछि गाउँ नै परिवर्तन भएको ५३ वर्षीय सीता ज्ञवाली बताइन् । गाउँमा बिजुलीको पोल गाड्न थालेको लामो समय भएपनि सुविधा उपभोग गर्न पाइएकामा निकै खुसी लागेको उनले बताइन ।

गाविसबाट नगरपालिकामा परिणत हुँदा पनि विद्युत् सेवा सुविधाबाट टाढा रहेका यहाँका स्थानीय बासिन्दाले ढिलै भए पनि विद्युत् उपभोगको सेवा पाएपछि आफूलाई बल्ल नगरवासीको बासिन्दा भएको अनुभूति गर्न थालेका छन् ।

बुटवल पावर कम्पनी लिमिटेडमार्फत गाउँमा विद्युत् विस्तार गरिएको हो । रामपुर नगरपालिकाको केन्द्रदेखि टाढा, दुर्गम र अति विकटमा पर्ने गैलुक, लामटाङ र लाँकुरीमा ठूलो प्रयास तथा मेहनतले लामो समय लगाएर भएपनि बिजुली बाल्न सफल भएको विद्युत् विस्तार उपभोक्ता समितिका अध्यक्ष खेम राना बताउँछन् ।

“सामान लिन नगरपालिकाको केन्द्रमा दुईदेखि तीन घन्टाको समय खर्चेर जानुपर्ने, समयमा नै आवश्यक सामान पु¥याउन नसक्दा काममा निकै झन्झट बेहोर्नु पर्यो”, उनले भने ।

भौगोलिक कठिनाइ, बजारदेखि टाढा हँुदा भनेको समयमा सामान उपलब्ध गराउन सकिएन, कच्ची बाटो र सानो पानी परेपनि यातायात ठप्प हुने जस्ता समस्याका बाबजुद पनि गाउँमा विद्युत् विस्तार गर्न सफल भएको रानाले बताए ।


क्लिकमान्डु