नोकिया ३ स्मार्टफोन अब नेपालमै किन्न पाइने, मूल्य १५ हजार ६ सय ५० रुपैयाँ



फोटो गूगलबाट

काठमाडौं । नोकियाले नेपाली बजारमा नोकिया ३ स्मार्टफोन उपलब्ध गराएको छ ।

विश्व बजारमा सार्वजनिक गरेको स्मार्टफोन नोकिया ३ कम्पनीले नेपाल बिना कुनै तामझाम बजारमा सार्वजनिक गरेको हो ।

हाल नोकिया ३ काठमाडौंका केहि सिमित रिटेल स्टोरहरुमा मात्र उपलब्ध रहेको छ । कम्पनीले गएको शुक्रबारदेखि नेपाली बजारमा बिना कुनै हल्ला नोकिया ३ स्मार्टफोन उपलब्ध गराएको बताईएको छ ।

नोकियाका मोबाइल नेपालमा बिक्री गर्ने आधिकारिक बितरक पारामाउन्ट इलेक्ट्रोनिक्स प्रा.लि.ले अनौपचारिकरुपमा नोकिया ३ स्मार्टफोन सार्वजनिक गरेको हो । कम्पनीले नोकियाका फोनहरुको माग धेरै भएको तर आपूर्ति निकै कम भएको भन्दै अनौपचारिकरुपमा नोकिया ३ बजारमा पठाएको एक अधिकारीले जानकारी दिए ।

कम्पनीकाअनुसार हाल काठमाडौंका मुख्य मुख्य बजार क्षेत्रहरुमा थोरै संख्यामा भएपनि नोकिया ३ उपलब्ध रहेको छ ।

हाल विश्वव्यापीरुपमा नै नोकियाका फोनहरुको माग अधिक रहेको तर आपूर्ति कम रहेको भन्दै मागअनुसारको सेटहरु आएपछि औपचारिकरुपमा नै बिक्रीको घोषणा गरिने कम्पनीको भनाई छ ।

भारतीय बजारमा पनि सिमित शहरका छानिएका रिटेल स्टोरहरुमा मात्र यी सेटहरु उपलब्ध गराउने जानकारी आएको ती अधिकारीले बताए ।
कम्पनीले नोकिया ३ को बजार मूल्य १५ हजार ६ सय ५० रुपैयाँ तोकेको जानकारी दिएको छ ।

नेपालमा आउँदो अगस्ट महिनामा मात्र नोकियाका सबै सेटहरु नोकिया ३, नोकिया ५ र नोकिया ६ उपलब्ध हुने कम्पनीले उल्लेख गरेको छ ।


क्लिकमान्डु