किसान चैते धानखेतीतर्फ आकर्षित



कञ्चनपुर । बेलडाँडी गाउँपालिका झिलमिलाका किसान बर्खे धानभन्दा दोब्बर उत्पादन दिने चैते धानखेतीतर्फ आकर्षित भएका छन् ।

छोटो अवधिमै बढी प्रतिफल दिने भएपछि यहाँका किसान चैते धानखेतीतर्फ आकर्षित भएका हुन् । माघको अन्तिम हप्ता बेर्ना राखेर फागुनको मध्य र चैतको पहिलो हप्ता चैते धानको रोपाइँ गर्ने किसानको सङ्ख्यामा यहाँ एक सय ५० भन्दाबढी रहेको छ ।

झिलमिलाका किसान ५० हेक्टर क्षेत्रफलमा चैते धानखेती गर्दै आएका छन् । स्थानीयवासी तेजबहादुर रावतले प्रतिवर्ष १८ हजार रुपैयाँ रकम तिर्ने गरी जग्गा भाडामा लिई चैते धानखेती गर्दै आएका छन् ।

चैत महिनामा रोपेको धानको उत्पादन चार महिनामै ३० बोरा बढी हुने गरेको उहाँले बताउनुभयो । “परम्परागत धानबालीको तुलनामा आधुनिक तरिकाले चैते धानको खेती गर्दा उत्पादनमा वृद्धि हुने गरेको छ,” उनले भने । उनले चैते धानबारे तालिम समेत लिएका छन् ।

दुई वर्षदेखि चैते धानखेतीमा संलग्न छविलाल सेजवाल रासायनिक मल, तोरीको पिना र पोटासको प्रयोग गरे चैते धानले अधिक उत्पादन दिने बताउँछन् । डेढ बिगाहा खेतमा गत वर्ष ४० बोरा धान फलेको उनले बताए।

महाकाली सिँचाइको नहर पुगेपछि यस क्षेत्रका किसानले चैते धानखेतीलाई निरन्तरता दिँदै आएका छन् । जिल्लाका अन्य क्षेत्रका किसानले वर्षमा दुई बाली मात्रै भित्र्याउँदा झिलमिलाका किसानले वर्षमा चैते धान, बर्खे धान र गँहुबाली गरी तीन बाली भित्र्याउने गरेका छन् ।

चैते धानबालीकै कारण किसानको आयस्तरमा समेत वृद्धि हुँदै गएको छ । थोरै जग्गामा गरिने खेतीले परिवार पाल्न यहाँका किसानलाई विगतमा निकै सास्ती हुने गरेको थियो । अधिकांश किसान खेतीपाती सकेपछि भारतमा मजदुरीका लागि जाने गरेका थिए । “नहरको पहुँचसँगै चैते धानखेती गर्न सहज भएको हो,” स्थानीय गम्भीर बूढाले भने । किसानले चैते धान बिक्री गरेर ७० हजार रुपैयाँदेखि एक लाख ५० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका उनको भनाइ छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार महाकाली सिँचाइको सुविधा पुगेका भीमदत्तनगरपालिकाको वसन्तपुर, बेदकोट नगरपालिकाको दैजी र बेलडाँडी गाउँपालिकाको झिलमिला क्षेत्रमा गरी ८५ हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिँदै आएको छ । आव २०७२÷७३ देखि बृहत्तर धान उत्पादन कार्यक्रमअन्तर्गत चैते धानखेती गर्ने किसानलाई प्रतिहेक्टर रु पाँच हजारका दरले प्रोत्साहन पुरुस्कार समेत दिने गरेको वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले बताए ।

पाँच हेक्टर क्षेत्रफलको नमुना ब्लक बनाई चैते धान उत्पादन गर्ने कृषक समूह र सहकारीलाई ५० हजार रुपैयाँ प्रोत्साहन पुरस्कार तथा १० वटा झार निकाल्ने मेसिन उपलब्ध गराएको जोशीले बताए। कार्यालयले चार सय हेक्टर जग्गामा यस वर्ष प्रोत्साहन रकम दिने योजना बनाएको छ । किसानलाई यस वर्ष ४० क्विन्टल चैते धानको बीउ निःशुल्क उपलब्ध गराएको कार्यालयले जनाएको छ ।

“मसिनो चामल आयात हुँदै आएकाले त्यसलाई निरुत्साहित गर्न चैते धानखेतीमा जोड दिइएको हो,” जोशीले भने । गत वर्ष कार्यालयले बेलडाँडी झिलमिलाका ३४ दशमलव १३ हेक्टर क्षेत्रफलमा चैते धानखेती गर्ने ३७ किसानलाई एक लाख ९५ हजार रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराएको थियो ।

कार्यालयले बेलौरी नगरपालिकाका चैते धानखेती गर्ने छजना किसानलाई २२ हजार रुपैयाँ, झलारी कृष्णपुरका किसानलाई सात हजार पाँच सय रुपैयाँ, बेदकोटका पाँच किसानलाई २५ हजार रुपैयाँ र भीमदत्तनगरपालिकाका ३४ किसानलाई ९० हजार रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराएको थियो ।  किसानले हर्दिनाथ जातको चैते धानको खेती गर्दै आएका छन् । चैते धान काटेर भित्राएपछि किसानले सो जग्गामा तरकारी खेती र बर्खे धान रोप्ने गरेका छन । चैते धानको खेती कञ्चनपुरमा विसं २०५७ देखि गरिँदै आएको छ ।


क्लिकमान्डु