पुनर्निर्माणका लागि जनशक्ति व्यवस्थापनमा युएनडीपीले ६० करोड रुपैयाँ सहयोग गर्ने



काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) बीच पुनर्निर्माणका लागि प्राधिकरणमा आवश्यक पर्ने जनशक्ति उत्पादनबारे समझदारी भएको छ ।

प्राधिकरणका सचिव सर्वजीत प्रसाद महतो र युएनडीपीका नेपाल निर्देशक रेनड मेयरले उक्त समझदारीमा हस्ताक्षर गरे ।

यो कार्यक्रम जेठ २० बाट लागू भएको छ । र, २०७६ पुस १६सम्म चल्नेछ । यो कार्यक्रमका लागि करिब ६० लाख अमेरिकी डलर अर्थात ६० करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ ।

सुरक्षित पुनर्निर्माणका लागि प्राधिकरणको क्षमता अभिबृद्धि परियोजनाअन्र्तगत चल्ने यो कार्यक्रममा यस वर्ष युनडीपीले पाँच लाख अमेरिकी डलर सहयोग गर्नेछ ।

यो समझदारीअनुसार प्राधिकरणले नेतृत्व गर्दै आएको पुनर्निर्माणलाई तीव्रता दिन मानव जनशक्ति व्यवस्थापन संयन्त्र स्थापना हुनेछ जसले आवश्यक विज्ञ तथा अन्य जनशक्ति पहिचान तथा नियुक्त गर्न प्राधिकरणलाई सहयोग गर्नेछ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले पुनर्निर्माणमा जनशक्तिको अभाव मुख्य चुनौती बनिरहेका बेला युएनडिपीको उक्त सहयोगले पुनर्निर्माणको गतिलाई तिव्रता दिन सहयोग पुग्ने बताए ।

उनले विभिन्न बिकास साझेदार संस्थाहरु समन्वय र सहकार्य गरेर पुनर्निर्माणलाई अझै प्रभावकारी बनाउन आवश्यक रहेको उल्लेख गरे ।


पुष्प दुलाल