रुकुममा करिब चार लाख किलो खोटो सङ्कलन



रुकुम। यस वर्ष जिल्लामा करिब चार लाख केजी खोटो सङ्कलन भएको छ । गत साउन महिनादेखि अहिलेसम्म नौ महिनाको अवधिमा तीन लाख ८५ हजार ८० केजी खोटो उत्पादन भएको जिल्ला वन कार्यालयले जनाएको छ ।

गत वर्ष दुई लाख ५९ हजार ३१६ किलो खोटो सङ्कलन भएको थियो । गत वर्षको तुलनामा यो वर्ष एक लाख २५ हजार ७६४ किलो बढी खोटो सङ्कलन गरिएको जिल्ला वन अधिकृत जगन्नाथप्रसाद जयसवालले जानकारी दिए। यो वर्ष गत वर्षको तुलनामा बढी सामुदायिक वनबाट खोटो सङ्कलन गरिएकाले खोटो सङ्कलन बढेको उनले बताए। गत वर्ष ३० ओटा सामुदायिक वनमा रहेका सल्लाका रूखबाट खोटो सङ्कलन गरिएको थियो भने यो वर्ष ३९ ओटा सामुदायिक वनमा रहेका सल्लाका रूखबाट खोटो सङ्कलन गरिएको उनको भनाइ छ।

खोटो सङ्कलनबाट सामुदायिक वनले यो वर्ष ३२ लाख ७१ हजार ३०० आम्दानी गरेका छन् । खोटो सङ्कलन बढेकाले आम्दानी पनि बढेको जिल्ला वन कार्यालयको भनाइ छ । गत वर्ष २० लाख ७४ हजार ५३३ रुपैयाँ आम्दानी भएको थियो । यस वर्ष गत वर्षको तुलनामा करिब १० लाख रुपैयाँ बढी आम्दानी भएको छ । जिल्लामा हरेक वर्षको चैत महिनादेखि कात्तिक महिनासम्म खोटो सङ्कलन हुने गरेको जिल्ला वन कार्यालयले जनाएको छ ।


क्लिकमान्डु