मर्स्याङ्दीमा डेढलाख माछाको भुरा राखियो



लमजुङ । मस्र्याङ्दी नदीमा एक लाख ५० हजार माछाको भुरा राखिएको छ ।

भुलभुलेमा निर्माण भएको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको बाँधस्थलमाथि सो परिमाणको माछाको भुरा राखिएको हो । बाँधस्थलमाथि रहेको ङादी खोलामा समेत माछाको भुरा राखिएको छ ।

पचास मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाले माछाको भुरा राखेको हो । सो आयोजना निर्माणका क्रममा माछाको पारिस्थितिक प्रणालीमा असर पुगेको भन्दै वातावरणीय प्रभाव सन्तुलनका लागि माछाका भुरा राखिएको हो ।

माथिल्लो मस्र्याङ्दी ‘ए’ आयोजना सरोकार तथा समन्वय समितिको पहलमा माछाको भुरा राखिएको आयोजना निर्माण कम्पनी सिनो सगरमाथा पावर कम्पनीका जनसम्पर्क अधिकृत कर्ण अधिकारीले बताए । नदीमा असला, राहु, सहर, मोहारीलगायत जातका माछाको भुरा राखिएको छ । आयोजनामा ‘फिस ल्याडर’ नराखिएकाले माछा वृद्धिका लागि भुरा छाडिएको हो ।

यस वर्ष अनुसन्धानका लागि डेढ लाख माछाको भुरा छाडिएको र आगामी वर्षमा पनि पुनः विभिन्न जातका माछाको भुरा थप्दै जाने अधिकारीले बताए। चितवनबाट ल्याएर मस्र्याङ्दी र ङादी खोलामा छाडिएका माछाका भुराले अवको दुई वर्षमा प्रजनन् गर्ने बताइएको छ ।


क्लिकमान्डु