३०८ मेगावाट क्षमताका एघार जलविद्युत् आयोजना निर्माणको चरणमा



म्याग्दी। जिल्लामा ३०८ मेगावाट क्षमताका एघार जलविद्युत् आयोजना निर्माणको चरणमा छन् ।

विद्युत् विकास विभागका अनुसार १४४ मेगावाट क्षमताका सातवटा आयोजनाले पूर्वाधार निर्माणको अनुमति पाएका छन् भने १६४ मेगावाट क्षमताका चारवटा आयोजना पूर्वाधार निर्माणको प्रक्रियामा छन् ।

तीन सय ५८ मेगावाट क्षमताका ११ वटा जलविद्युत् आयोजनाको सर्वेक्षणका लागि विभिन्न प्रवद्र्धक कम्पनीलाई अनुमति दिइएको विभागका उपमहानिर्देशक पुरुषोत्तम आचार्यले जानकारी दिए । दुई सय ४२ मेगावाट क्षमताको आठवटा आयोजनाको सर्वेक्षणका लागि विभागमा निवेदन परेको छ ।

वातावरणीय प्रभाव मूल्याङ्कन र विद्युत् खरिद बिक्री सम्झौता गरेका आयोजनालाई निर्माणको अनुमति दिइएको उपमहानिर्देशक आचार्यले बताए। नेपाल विद्युत् प्राधिकरणले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणका लागि सहायक कम्पनी स्थापना गर्ने निर्णय गरेको छ ।

स्थानीय व्यापारी र सर्वसाधारणको लगानीमा घलेम्दी हाइड्रो लिमिटेडले अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा चार वर्षअघि निर्माण सुरु गरेको पाँच मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजनाको ५० प्रतिशतभन्दा बढी काम सकिएको छ । रोवस्ट इनर्जी प्रालिले नारच्याङमै ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणको काम तीव्र पारेको छ । अन्नपूर्ण गाउँपालिकाकै शिख घारमा म्याग्दी हाइड्रोपावरले ८.३ मेगावाटको घारखोला जलविद्युत् आयोजना निर्माणको तयारी गरेको छ ।

वित्तीय स्रोत जुटाउन विभिन्न बैंकसँग सम्झौता भएको आयोजनाको पहुँचमार्ग, सुरुङ, बाँध र विद्युत्गृह निर्माणको काम सुरु गर्ने तयारी भएको कम्पनीका प्रबन्ध निर्देशक अर्जुन पौडेलले बताए। धौलागिरि गाउँपालिकाको मुदीमा हाइड्रो इम्पाएर प्रालिले २० मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु गरेको छ ।

यस्तै धौलागिरि कालिका हाइड्रोले मालिका गाउँपालिकामा निर्माण गर्न लागेको २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला आयोजना स्थानीय र प्रवद्र्धकबीचको लगानी विवादले अघि बढ्न सकेको छैन । विद्युत् विकास विभागले रिसर्च एन्ड डेभलपमेन्ट गु्रपलाई चार मेगावाट क्षमताको रुप्सेखोला जलविद्युत् आयोजना निर्माणको अनुमति दिए पनि पर्यटकीयस्थल रुप्से झरना सङ्कटमा पर्ने भन्दै स्थानीयवासीले विरोध जनाएका छन् ।

टुडी पावर कम्पनीले ४८ मेगावाटको अपर राहुघाट, निलगिरि खोला हाइड्रोपावरले ३८ मेगावाटको निलगिरि खोला, टे«डलिङ्क ग्लोवलले ७२ मेगावाटको अपर कालीगण्डकी र ह्युम कन्सल्टेन्टले छ मेगावाटको रेलेखोला जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणको प्रक्रिया अघि बढाएको विभागले जनाएको छ ।


क्लिकमान्डु