सामुदायिक वनबाट दुई करोड आम्दानी



काठमाडौँ । वन विभागले सामुदायिक वनबाट यो आर्थिक वर्षमा एक करोड ९१ लाख रुपैयाँ आम्दानी गरेको छ ।

विभागले यो चालु आर्थिक वर्षको दश महिनामा बहुमूल्य काठ साल, सिसौ, खयर, चाँपलगायतका काठ बिक्रीबाट उक्त रकम सङ्कलन गरेको  प्रवक्ता ईश्वरी पौडेलले जानकारी दिए।

विभागले सामुदायिक वनबाट आम्दानी भएको रकम समुदायलाई नै दिँदै आएपनि बहुमूल्य काठको बिक्री वितरणबाट जम्मा भएको रकमको १५ प्रतिशत भने सम्बन्धित जिल्ला वन कार्यालयले लिँदै आएको छ । विभागले आव २०७२÷७३ मा रु सात करोड आम्दानी गरेपनि यो वर्ष भने धेरै कम आम्दानी गरेको हो ।

विसं २०३० मा सिन्धुपाल्चोकको ठोकर्पा वनमा सिन्धुपाल्चोकका तत्कालीन प्रधानपञ्च नीलप्रसाद भण्डारीको योगदानमा  सामुदायिक वनको अवधारणा सुरु भए पनि हाल नेपालमा १९ हजार ३६१ सामुदायिक वन छ । अहिलेसम्म ७४ जिल्लामा सामुदायिक वन छ भने मुस्ताङमा कुनै सामुदायिक वन छैन । सो सामुदायिक वनबाट हाल २४ लाख ६१ हजार ५४९ घरधुरी लाभान्वित भएको विभागले जनाएको छ।


क्लिकमान्डु