चाँगुनारायण नगरपालीकामा एमाले ३७१४ मत ल्याउँदा, काँग्रेसको ३३६६




भक्तपुर । मतगणना रोकिएको छ दिनपछि सहमतिका आधारमा पुनःमतगणना भएको चाँगुनारायण नगरपालिकाका दुई वडामा नेकपा एमालेको समूह विजयी भएको छ ।

आज बिहान सार्वजनिक भएको मतपरिणामानुसार चाँगुनारायण–४ मा बुद्धलाल महर्जनको समूह विजयी भएको छ । महर्जनले १ हजार २६९ मत ल्याएर बिजयी भएका हुन् ।

चाँगुनारायण–३ मा पनि एमालेका श्यामसुन्दर धिमालको समूह विजयी भएको छ ।

नगरप्रमुखमा एमालेका उम्मेदवार सोम मिश्रले अग्रता लिएका छन् । मिश्रको ३ हजार ७१४ मत छ भने, काँग्रेसका राजाराम खड्काले ३ हजार ३६६ मतले पछ्याइरहेका छन् ।

त्यसैगरी उपप्रमुखमा काँग्रेसकी सरु बानियाँले ३ हजार ८६० मत सहित अग्रता लिएकी छिन् । एमालेकी विना बास्तोलाले तीन हजार ८२४ मतले पछ्याइ रहेकि छिन् । मतगणना जारी छ ।

यसअघि वडा नं ३ र ४ को मतगणनाका क्रममा गणक कर्मचारीले काँग्रेस र नेमकिपाको मत एमालेको उम्मेदवारका नाममा जोडेर धाँधली गरेको भन्दै एमालेबाहेकका दलले छ दिनसम्म मतगणना रोकेका थिए ।

६ दिनपछि पुराना कर्मचारी सबैलाई हटाएर नयाँ कर्मचारी राखी पुनःमतगणना सुरु भएको हो ।


क्लिकमान्डु