बाली बीमाबारे किसानले बुझेनन्



बैतडी। बाली बीमाबारे यहाँका किसान अनविज्ञ रहेका छन् ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा अहिलेसम्म किसानले बाली बीमा गरेका छैनन् । सरकारले २०६९ सालमा किसानलाई लक्षित गरेर बाली बीमा कार्यक्रम ल्याएको हो । बीमाबारे किसानले नबुझ्दा उनीहरुले बीमा नगरेका हुन् ।

सरकारले असिना, खडेरी, सुख्खा, रोगकीराको प्रकोपबाट बालीनालीमा क्षति पुगेमा किसानलाई बढीमा ९० प्रतिशतसम्म क्षतिपूर्ति दिने व्यवस्था गरेको छ । तर किसानले बीमा नै नगरेकाले क्षति भए पनि क्षतिपूर्ति पाउन नसकेको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकृत कर्णबहादुर चन्दले बताए ।

बाली बीमा नगरेकै कारण किसानले बर्सेनि क्षतिपूर्ति पाउन सकेका छैनन् । “बाली बीमाबारेमा किसानले चासो दिने गरेका छैनन्,” नेपाल इन्स्युरेन्स कम्पनी लिमिटेडका प्राविधिक सहायक महादेव अवस्थीले भने । कम्पनीले डडेल्धुरा र बैतडीमा कृषि बीमा गर्ने गरेको छ ।

सरकारले विभिन्न बालीमा त्यसको लागत निर्धारण गरेर ७५ प्रतिशत बीमा शुल्क आफैले तिर्ने गर्दछ । क्षतिपूर्ति किसानले लागतको ९० प्रतिशतसम्म पाउने गर्छन् ।


क्लिकमान्डु