स्मार्ट टेलिकमलाई फोरजी संचालनको अनुमति, साउन १५ देखि सेवा शुरु गर्न पाउने



काठमाडौं । नेपाल दुरसंचार प्राधिकरणले फोरजी प्रविधिको सेवा संचालन गर्न स्मार्ट टेलिकमलाई अनुमति दिएको छ । प्राधिकरणको आइतवार बसेको बोर्ड बैठकले १८०० मेगाहर्ज ब्याण्डमा प्रविधि तटस्थता बमोजिम सेवा संचालन गर्न स्वीकृति दिएको हो ।

प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले स्मार्ट टेलिकमलाई स्वीकृति दिएको जानकारी दिँदै फोरजी प्रविधि सेवा संचालन गर्न बजारमा नयाँ कम्पनी प्रतिस्पर्धामा आएको बताए ।

‘जेठ ७ गते बसेको बोर्डले फोरजी सेवा संचालनको अनुमति दिएको हो, अब फोरजी सेवा संचालनमा प्रतिस्पर्धा हुन्छ,’ उनले भने ।

स्मार्ट टेलिकमले नेपाल सरकार तथा प्राधिकरणलाई बुझाउनुपर्ने फ्रिक्वेन्सी दस्तुर, रोयल्टी तथा नविकरण दस्तुरलगायतका तिनुपर्ने दस्तुर बुझाईसकेपछि आगामी साउन १५ गतेदेखि प्रविधि तटस्थता बमोजिम सेवा प्रारम्भ गर्न पाउने गरी स्वीकृति पाएको हो ।

कम्पनीले नेपालरभर सेवा संचालन गर्ने अनुमति पाएको छ भने प्रत्येक ३ महिनामा कार्यप्रगति बिबरण प्राधिकरणमा पेश गर्नुपर्ने छ । त्यसैगरी क्षेत्र बिस्तार तथा गुणस्तरका सम्बन्धमा प्राधिकरणले समय समयमा दिइने निर्देशन पालना गर्नुपर्ने अनुमति पत्रको शर्तमा उल्लेख भएको प्राधिकरणले जानकारी दिएको छ ।

स्मार्टले फोरजी सेवा संचालनको अनमुति पाएपछि यस्तो सेवा संचालनको अनुमति पाउने कम्पनीको संख्या ३ पुगेको छ । प्राधिकरणले यसअघि नै सरकारी स्वामित्वको नेपाल टेलिकम र निजी क्षेत्रको एनसेलले यस्तो सेवा संचालनको अनुमति दिइसकेको छ ।


क्लिकमान्डु