जडीबुटी जडीबुटी सङ्कलन तथा बिक्री नहुँदा चोरी निकासी बढ्दै



पर्वत । कास्की, स्याङ्जा र पर्वतको सङ्गममा पर्ने प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे क्षेत्रमा रहेका जडीबुटी निकासी हुन सकेको छैन ।

सयौं प्रकारका जडीबुटी सङ्कलन तथा बिक्री गर्न सम्बन्धित निकायले चासो नदिँदा दिनप्रतिदन चोरी निकासी बढ्दै गएको छ । स्थानीय प्रशासनले चासो नदिँदा यस क्षेत्रमा जडीबुटीको चोरी निकासी बढेर गएको स्थानीयवासीको गुनासो छ । पाँच हजार ५०० हेक्टर क्षेत्रफलमा फैलिएको पञ्चासे क्षेत्रको वनजङ्गल जडीबुटीका लागि प्रख्यात छ ।

उक्त वन क्षेत्रमा ११२ थरिका सुनगाभा र ३०० भन्दा बढी लोपोन्मुख प्रजातिका वनस्पति पाइने गरेको छ । विश्वमै दुर्लभ मानिएका जडीबुटीसमेत यही क्षेत्रमा पाइन्छ । यहाँ दिउँसै तस्करले जडीबुटी तस्करी गर्ने गरेका छन् । मुलुकमै सबैभन्दा बढी सुनगाभा यसै वन क्षेत्रमा पाइन्छ ।

त्यस्तै दुर्लभ मानिएका लौठ सल्ला, चाँप, फलाट, लालीगुराँस, फस्रु पनि यही वनमा पाइने भएकाले चोरी निकासीको गिरोह सक्रिय बन्दै आएको हो । विगत केही वर्षदेखि जडीबुटीको चोरी निकासी बढ्दै गएको पञ्चासे क्षेत्र विकास समितिका अध्यक्ष गोपाल गुरुङ बताउँछन् ।

“तीनवटै जिल्लाको प्रशासन सो क्षेत्रमा दैनिकजसो भइरहेको चोरी निकासीबारेमा बेखबर बनेको छ,” स्थानीयवासी मनोज गुरुङ भन्छन् । जडीबुटी तस्करी गर्न पोखरा, काठमाडौँदेखि आउने गरेका छन् ।

“बर्सेनि लाखौँ रुपैयाँ बराबरको जडीबुटी चोरी निकासी हुन्छ,” स्थानीयवासी विष्णुकुमारी गुरुङले भने । चोरी तस्करीका कारण  जडीबुटी सकिँदै गएको छ । वन क्षेत्र वरपर बाक्लो मानव बस्ती नभएका कारण समेत तस्करलाई जडीबुटी सङ्कलन गर्न सहज भएको छ ।


क्लिकमान्डु