किसानलाई प्रोत्साहन गर्न अनुदान



मोरङ । सरकारले १० वर्षभित्रमा मुलुकलाई धान, चामल, तरकारी र माछामासुमा आत्मनिर्भर बनाउन कृषकलाई अनुदानको व्यवस्था गरेको छ ।

जिल्ला कृषि विकास कार्यालयमार्फत सो अनुदान रकम किसानलाई वितरण गर्न लागिएको हो । मोरङका किसानले साना सिँचाइ योजनाअन्तर्गत एक करोड २२ लाख रुपैयाँ, पकेट ब्लकअन्तर्गत एक करोड ६५ लाख रुपैयाँ र चैतेधान कार्यक्रमअन्तर्गत ५० लाख रुपैयाँ बराबरको अनुदानको व्यवस्था गरेको छ ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख मनोजकुमार यादवका अनुसार चैतेधान कार्यक्रमअन्तर्गत किसानलाई ५० लाख रुपैयाँ भन्दा बढी रकम अनुदान दिन लागेको बताए । एक हजार हेक्टरमा लगाएको चैतेधानका किसानलाई प्रतिहेक्टर पाँच हजार रुपैयाँका दरले अनुदान दिने उनले बताए ।

बर्खे धानका लागि विभिन्न जातका धानका बीउ अनुदानमा वितरण भइरहेको यादवको भनाइ छ । जिल्लामा ८०० हेक्टर जग्गामा लगाइने बर्खे धानका लागि ४० मेट्रिक टन बीउ किसानलाई ५० प्रतिशत अनुदानका रुपमा वितरणको तयारी कार्यालयले गरेको छ । जहदा गाउँपालिका र कटहरी गाउँपालिकामा तरकारी ब्लक र इटहरा सिजुवामा धानको ब्लक सञ्चालन भइरहेको छ ।

ब्लक सञ्चालक  समितिले गरेको सिफारिसका आधारमा ५० देखि ८५ प्रतिशतसम्म अनुदान रकम पाउने प्रावधान छ । दुवै ब्लकका लागि सरकारले एक करोड २२ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ । जिल्लाम ६५ वटा पकेट क्षेत्र कार्यक्रम सञ्चालन भइरहेको छ । यसका लागि एक करोड ६५ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ ।


क्लिकमान्डु