छाडा पशुचौपायाका कारण तरकारी व्यवसायी हैरान



कैलाली। कैलाली जिल्लाका आसपासका क्षेत्रमा तरकारी व्यवसाय गरी बसेका कृषक छाडा पशुचौपायाका कारण हैरानी व्यवहोर्दै आएका छन् ।

दिनभर छाडा रुपमा छोडिएका चौपायाले बजारका पसलमा बिक्रीका लागि राखिएका खाद्यान्न लगायतका खानेकुरा खाइदिनुका साथै  किसानको बारीमा लगाएको तरकारी फलफूल खाएर सखाप पारीदिएको कृषकले गुनासो पोख्दै आएका छन् ।

तरकारी खेतीलाई प्रमुख व्यवसायका रुपमा खेती गर्दै आएका कृषकका तरकारीबारी सखाप पार्दा उनीहरुको परिश्रम बालुवामा पानी हाले झै भइराखेको छ ।

धनगढी उपमहानगरपालिका–२ मा झन्डै पाँच वर्षदेखि दुई बिगाघा जमिन भाडामा लिई तरकारीखेती गदै आएका मुमताज आलमले सयौँका सङ्ख्यामा छाडा पशुचौपायाले  फसल प्राप्त गर्ने बेला सखाप पारिदिने गरेको गुनासो गरे ।

बजारको मुख्य क्षेत्रमै डुलिरहने पशुचौपायाका कारण दुर्घटनाको जोखिम बढ्दै गएको तिनको मलमुत्रले पनि  बजार क्षेत्र दुर्घन्धित हुँदै गएको छ ।

यति हुँदाहुँदै पनि धनगढी उपमहानगरपालिका तथा यस क्षेत्रका सरोकारवाला निकाय समस्या  समाधन गर्नुभन्दा  मौन बसेरहेकाले स्थानीयवासीले ठूलो घाटा व्यहोर्दै आएका छन् ।