कसले पाउला ३ अर्बभन्दा बढीको ब्रोडब्याण्डको यो ठेक्का ?




काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले प्रदेश नम्बर ६ र ७ मा ब्रोडब्याण्ड इन्टरनेट पुर्याउन आव्हान गरेको बोलपत्र शुक्रबार खुला गरेको छ । प्राधिकरणले प्रदेश ६ र ७ का १९ वटा जिल्लाहरुमा अप्टिकल फाइबर नेटवर्क तथा अप्टिकल नेटवर्क लिज कनेक्टिभिटी सेवा पुर्याउन अप्रिल १३ मा बोलपत्र आव्हान गरेको थियो ।

सो बोलपत्र अनुसार दुई वटा कम्पनीहरु स्मार्ट टेलिकम र वल्र्डलिंक कम्यूनिकेसनले आवेदन गरेकोमा दुबैको बोलपत्र खोलिएको प्राधिकरणले जानकारी दिएको छ ।

दुबै कम्पनीहरुमध्ये छनौट हुने एक कम्पनीले दुबै प्रदेशका रुकुमको मुसीकोटेखि दार्चुलाको झुलाघाटसम्म मध्यपहाडी राजमार्गमा अप्टिकल फाइबर बिछ्याउने छ ।

प्राधिकणका एक अधिकारीका अनुसार स्मार्ट टेलिकमले ३ अर्ब ५४ लाख रुपैयाँको प्रस्ताव गरेको छ भने वल्र्डलिंकले ३ अर्ब ३४ करोड रुपैयाँको प्रस्ताव गरेको छ ।

दुबै कम्पनीहरुको प्राविधिक प्रस्ताव हेरेर उनीहरुको योग्यता र क्षमताको आधारमा न्यूनतम मूल्यांकन गर्ने कम्पनीलाई छनौट गरिने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले ग्रामीण दूरसंचार कोषको रकम प्रयोग गरेर प्रदेश नम्बर ६ र ७ का १९ जिल्लाहरुमा इन्टरनेट सेवा पुर्याउन लागेको हो । छनौट भएको कम्पनीले अप्टिकल फाइबर नेटवर्क बनाउने र आगामी चार वर्षसम्म अप्टिकल नेटवर्क लिज कनेक्टिभिटी सेवा प्रदान गर्नुपर्ने प्राधिकरणले उल्लेख गरेको छ ।


क्लिकमान्डु