मौरीपालनबाट मनग्य आम्दानी, प्रतिकिलो १ हजार रुपैयाँसम्ममा बिक्री



इलाम। जिर्मलेका निमा राईले मौरीपालन व्यवसायबाट वार्षिक दुई लाख ५० हजार रुपैयाँसम्म आम्दानी गरे । घरमा भएको दुई घार मौरीलाई आधुनिक घारमा सारेर १० वटा घारमार्फत उनले व्यावसायिक रुपमा  मौरीपालन गर्दै आएका छन । उनी अहिले जिर्मलेकै नमुना कृषकका रूपमा चिनिन्छन् ।

राईकै सिको गरेर जिर्मलेका १०० भन्दा बढी किसान आधुनिक मौरीपालन व्यवसायमा लागेका छन् । स्थानीय कुमार मोक्तान र बुद्ध लामाले अहिले मह बेचेर वार्षिक एक लाख रुपैयाँ भन्दा बढीको मह बिक्री गर्छन् ।

‘मेहनत गरे आफ्नै देशमा कमाउन सकिँदो रहेछ,’ विदेश जान राहदानी बनाएर बस्नुभएका राईले भने। अन्तिम समयमा आएर उनले मौरीपालन व्यवसाय रोजेका हुन् । राईले वर्षमा छ पटकसम्म मह काढ्छन् । उनले  प्रतिकिलो मह ७०० रुपैयाँदेखि एक हजार रुपैयाँसम्ममा बिक्री गर्छन् ।

जिर्मलेमा अहिले व्यावसायिक रूपमा मौरी पाल्ने किसानको समूह समेत गठन भएका छन् । सलकपुर र मनोकामना मौरीपालक किसान समूहले मह उत्पादन गर्नुका साथै यहाँका गोला मौरी नमुनाको रूपमा मौरी विकास शाखा गोदावरी पठाउने गरेको छ ।

जिर्मलेलाई पूर्वाञ्चलकै मौरी स्रोतकेन्द्रको रूपमा विकास गर्न यहाँका किसान मौरीपालनसम्बन्धी तालिम लिइरहेका छन् । सेरेना जातको मौरीका लागि जिर्मले क्षेत्र अत्यन्तै उपयुक्त मानिन्छ । यहाँ उत्पादन भएको मह इलाम, झापा, काठमाडौँ र भारतीय बजारमा बिक्री हुँदै आएको मौरी व्यवसायी कुमार मोक्तान बताउँछन् ।


क्लिकमान्डु