तरकारी बिक्री गर्न नसकेपछि गाईबस्तुलाई



झापा। लखनपुर–४ देखि दमक बजार र गौरादह बजार करिब छ/छ किलोमिटरको दूरीमा पर्छ । ती दुवै बजारमा काँक्रा प्रतिकिलो ४० रुपैयाँमा बिक्री हुन्छ । यस्तै खुर्सानी प्रतिकिलो ८० रुपैयाँमा बिक्री हुन्छ । तरलखनपुर–४ मदनटोलका किसान काँक्रा प्रतिकिलो १० रुपैयाँ र खुर्सानी ३० रुपैयाँ मा समेत बिक्री गर्न नसकेपछि समस्यामा छन् ।

बेमौसमी तरकारीखेतीमा लागेका यहाँका किसानले उत्पादन गरेको तरकारीले उचित मूल्य पाउन सकेको छैन । उचित मूल्य नपाएपछि उत्पादन गरेको तरकारी गाईबस्तुलाई खोले बनाएर खुवाउन बाध्य भएका स्थानीय कृषक मदन आचार्यले बताए ।

‘बजारमा लगेर तरकारी बेच्नै मुस्किल भएको छ, घरमै बेचौँ भने बिचौलियाले आधा मूल्य पनि दिँदैनन्,’ उनले भने । काँक्रा र खुर्सानी मात्र होइन गोलभेँडा, फर्सी, बोडी, करेला, सिमी, बन्दागोभी, काउली, रायोको साग, पालुङ्गोको साग, धनिया, गाँजर, मूलालगायत तरकारी बिक्री गर्न समस्या भएको छ । उचित मूल्य नपाएपछि किसानले तरकारी गाईबस्तुलाई खोले बनाएर खुवाउन बाध्य भएका हुन् ।

स्थानीय कृषक दामोदर गुरागाईंका अनुसार स्वरोजगार बन्न ऋण खोजेर व्यावसायिक तरकारीखेतीमा लागेका यहाँका किसान अहिले ब्याज तिर्न नसकेर समस्यामा छन् । यहाँका युवा विदेशबाट फर्किएपछि तरकारीखेतीमा लागेका छन् । ‘आम्दानीको मुख्य स्रोत नै बेमौसमी तरकारी हो, त्यही तरकारी नबिकेर चिन्तित भएका छौँ,’ स्थानी कृषक राजु बरालले भने ।

लागतसम्म उठाउन नसकेपछि यहाँका किसान मारमा परेका छन् । ‘व्यापारी आफैँ आएर छानेर तरकारी टिप्छन् र आफैँ मोलमोलाई गर्छन्,’ स्थानीय कृषक भानु सुवेदीले भने, ‘व्यापारीले भनेकै मूल्यमा बिक्री गर्न बाध्य भएका छौँ ।’


क्लिकमान्डु