उन्नत जातको बीउले कृषकलाई आत्मनिर्भर बनाउँदै



बाजुरा । जिल्ला कृषि विकास कार्यालयले वितरण गरेको उन्नत जातको बीउका कारण यस वर्ष २० प्रतिशतले गहुँ उत्पादन बढेको छ ।

गहुँखेतीका लागि अनुकूल मौसम, उन्नत जातको बीउ प्रयोग र खरेडीको प्रभाव कम परेका कारण उत्पादन बढेको कार्यालयका निमित्त कृषि विकास अधिकृत मीनप्रसाद जैशीले बताए ।

तथ्याङ्कअनुसार आव २०७१/७२ मा नौ हजार १२० हेक्टर जमिनमा १४ हजार ५९२ मेट्रिक टन गहुँ उत्पादन भएको थियो । तर खडेरीका कारण गत वर्ष ६६० मेट्रिक टन कम गहुँ उत्पादन भएको थियो । आव २०७२/७३ मा १२ हजार ३१२ मेट्रिक टन गहुँ उत्पादन भएको थियो । आव २०७३/७४ मा १४ हजार ७७५ मेट्रिक टन गहुँ उत्पादन भएको कार्यालयले जनाएको छ ।

आव २०७१/७२ मा प्रतिहेक्टर १ दशमलव ६ प्रतिशत, आव २०७२/७३ मा १ दशमलव ३ प्रतिशत तथा आव २०७३/७४ मा १ दशमलव ८ प्रतिशतका दरले उत्पादन बढेको जैसीले बताउनुभयो । पछिल्लो समयमा उन्नत जातको बीउका कारण उत्पादन बढेपछि कृषक खुसी भएका छन् । कृषकलाई डब्लु के १२०४ जातको गहुँको बीउ वितरण गरिएको छ ।

बाजुरा खाद्य असुरक्षाका कारण उच्च जोखिममा छ । जिल्लालाई खाद्य पोषण सुरक्षा बढाउने गरी उत्पादन कार्यक्रम अघि बढाइएको कृषि प्राविधिक ललिता चौधरी बताउँछन् । जिल्लामा नौ हजार १२० हेक्टरमा गहुँ खेती गर्न सकिन्छ । करिब दुई हजार ७३५ हेक्टर जमिनमा मात्र सिँचाइ सुविधा रहेको छ । सिञ्चित जमिनमा प्रतिहेक्टर पाँच मेट्रिक टनका दरले गहुँ उत्पादन भएको छ ।

‘सिँचाइ सुविधा पुर्याउन सकिए खाद्य असुरक्षा घट्नुका साथै गहुँ उत्पादनमा वृद्धि हुन्छ,’ उनले भने । यस वर्ष कार्यालयले २४ हेक्टर जमिनमा गहुँको बीउ उत्पादन गरिएको छ । यस वर्ष उत्पादनका लागि थप सात प्रकारका बीउ परीक्षण गर्ने तयारीमा कार्यालय रहेको छ ।

जिल्लाका लागि बर्सेनि २८ हजार १०५ मेट्रिक टन खाद्यान्न आवश्यक पछ । करिब १५ हजार मेट्रिक टन जिल्लामा उत्पादन हुन्छ भने १३ हजार मेट्रिक टन जिल्ला बाहिरबाट खरिद गर्नुपर्छ । कार्यालयले पछिल्लो समयमा स्थानीयस्तरमा रहेको रैथाने बालीको संरक्षण र प्रवद्र्धनका लागि अभियान सञ्चालन गर्दै आएको छ । कार्यालयले नेपाल खाद्य संस्थान बाजुरासँग ६० क्विन्टल फापर खरिदका लागि सम्झौता गरेको छ ।


क्लिकमान्डु