साढे छ सय रोपनीमा हिउँदे धानखेती



पर्वत । जिल्ला कृषि विकास कार्यालयको हिउँदे धानबाली प्रवद्र्धधन कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न स्थानमा हिउँदे धानखेती विस्तार गरिएको हो ।

कार्यालयले पैयु गाउँपालिका हुवासमा नमुना ब्लकको रुपमा एक सय रोपनी जग्गामा खेती विस्तार गरेको छ । यस्तै टकलाक, त्रिवेणी, बेउलीबास, अर्मादी, लस्ती, मिलनचोकलगायत स्थानमा गरी एक हजार ६६० रोपनीमा हिउँदे धानखेती गरिएको कार्यालयका धानबाली फोकल पर्सन चेतनाथ पौडेलले जानकारी दिए।

अहिलेसम्म निर्वाहमुखी खेतीमा भर पर्दै आएकाले हिउँदे धानबालीबाट किसानलाई व्यावसायिक बनाउने अभिप्रायले हिउँदे धानखेतीतर्फ आकर्षित गरिएको उनले बताए । हिउँदे धानबालीमा अहिले किसान विभिन्न समूह बनाएर अग्रसर भएका छन् । समूहमा आबद्ध भएर खेतीमा सक्रिय भएपछि अनुदान, बाली बिमालगायतका क्रियाकलापमा सहज हुने स्थानीय काशीराम गौतम बताउँछन् ।

हुवासमा हर्दिनाथ १ जातको १०५ किलो बीउ लगाइएको छ । हिउँदे धानबाली सोचेअनुरुप उत्पादन गर्न सकेमा उद्योग नै स्थापना गरेर चिउरा,भुजालगायतका खाद्य सामग्री उत्पादन गर्न सकिने गौतमको भनाइ छ ।

लोपोन्मुख रुपमा रहेको हिउँदे धानखेती नमुना ब्लकबाट उत्पादन दिन सकेमा आउँदो वर्ष फलेवास, कुर्घालगायतका स्थानमा समेत विस्तार गरिने वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताए । हिउँदे धान समुद्री सतहदेखि ६०० मिटरदेखि एक हजार २०० मिटर उचाइसम्म लगाउन सकिन्छ ।


क्लिकमान्डु