कैलालीमा माछापालन, छ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन



धनगढी। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कैलालीमा ब्लकका रुपमा एक सय हेक्टर जग्गामा धानखेती र ९५ हेक्टर बराबरको जलाशयमा माछापालन गर्न लागिएको छ ।

धानको खेती गर्न जिल्लाको साविक फूलबारी, पवेरा र रतनपुर गाविस र माछापालनका लागि साविक गदरिया, हसुलिया, खैलाडलगायतका गाविस छनोटमा परेको जिल्ला कृषि विकास  कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत युवराज पाण्डेले जानकारी दिए ।

कृषक समूह, सहकारी संस्था वा व्यक्ति (कृषक) मार्फत सञ्चालन हुन लागेको धानखेतीका लागि कृषि विकास कार्यालयले माटो परीक्षण कृषि यन्त्रलगायतको प्राविधिक सहयोग गर्न लागेको छ । खेती गरिने क्षेत्रमा ‘कष्टम हाइरिङ सेन्टर‘को व्यवस्थासमेत गर्न लागिएको छ ।

हाइरिङ सेन्टरबाट सम्बन्धित किसानले धान काट्ने, दाइँ गर्ने, गोडमेल गर्ने, खनजोत गर्नेलगायतका कामका लागि कृषि यन्त्रको सुविधा पाउने बताइएको छ । यसै माछापालनका लागि छनोटमा परेका किसानसँग हाल सम्झौता गर्ने कार्य भइरहेको छ ।

कार्यक्रमअन्तर्गत एक हेक्टर बराबरको जग्गा खनेर ताल बनाउने किसानलाई तीन लाख रुपैयाँसम्मको अनुदान दिन लागिएको छ ।

माछापालन कार्यक्रमबाट करिब ४१ कृषक परिवार समेटिन लागेका छन् । ब्लकका रुपमा सञ्चालन हुन लागेको धानखेती र माछापालन कार्यक्रम कार्यान्वयनका लागि चालु आवमा छ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।


क्लिकमान्डु