एनसेलले पायो ‘टेलिकम एसिया अवार्डस् २०१७’




काठमाडौं ।  मोवाइल सेवा प्रदायक कम्पनी एनसेल एशिया प्यासिफिक क्षेत्रकै प्रतिष्ठित अवार्ड ‘टेलिकम एसिया अवार्डस् २०१७’ बाट सम्मानित भएको छ ।
राष्ट्रिय प्रसारण लाइन नपुगेका समुदायहरुमा सौर्य लघुग्रीड संचालकसँग सहकार्य गर्दै, स्थानियवासीलाई सञ्चार तथा उर्जा सेवा पु¥याउन एनसेलले गरेको प्रयासलाई एसिया प्यासिफिक क्षेत्रकै उत्कृष्ट नवीन टेलिकम परियोजना ठहर गर्दै टेलिकम एसियाले यो अवार्ड प्रदान गरेको हो ।

एनसेलको यो परियोजनाले नवीन टेलिकम प्रोजेक्ट अन्तर्गत अन्तिम चरणमा पुगेका गुगलको ‘प्रोजेक्ट लोन’, चाईना युनिकमको इन्टरनेट अफ थिङ्गस्मा आधारित स्मार्ट पार्किङ्ग र साउथ कोरियन एसके टेलिकमको भर्चुअल असिस्टेन्ट सर्भिस ‘नुगु’ लाई पछाडी पार्दै यो अवार्ड हात पार्न सफल भएको हो । टेलिकम एसियाका स्वतन्त्र निर्णयक मण्डलले नवीनता, वित्तिय प्रर्दशन, प्रविधि, बजार नेतृत्व र कर्पोरेट सुशासन लगायतका मापदण्डका आधारमा प्रोजेक्टहरुको मुल्याङ्कन गर्दै एनसेलको पहललाई उत्कृष्ट ठहर गरेका थिए ।

बुधबार मलेसियामा आयोजित २० औं टेलिकम एसिया अवार्डस्को समारोहमा एनसेललाई विजयी घोषणा गर्दै अवार्ड प्रदान गरिएको थियो । एनसेलकीे कर्पोरेट संवाद निर्देशक सञ्जु कोईरालाले उक्त अवार्ड ग्रहण गरेकी थिइन् ।

‘राष्ट्रिय प्रसारण लाइन नपुगेका समुदायमा सहज सेवा सुनिश्चित गर्ने र अफ ग्रीड समुदायका सञ्चारको मागलाई सम्बोधन गर्ने उद्देश्य लिई संचालन गरिएको यो प्रोजेक्टले अन्र्तराष्ट्रिय सम्मान प्राप्त गरेकोमा हामी हर्षित छौं । यो अवार्ड नवीन सहकार्य गर्दै देशको सामाजिक तथा आर्थिक विकासका लागि एनसेल सधै कटिवद्घ रहेको छ भन्ने प्रमाण हो,’ एनसेलका प्रबन्ध निर्देशक साईमन पर्किन्स्ले भने ।

यो परियोजनामा एनसेल तथा स्थानिय लघुग्रीड संचालक घाम पावर नेपाल प्रालिले सहकार्य गर्दै बिजुलीको राष्ट्रिय प्रशारण लाइन नपुगेका खोटाङ्ग तथा उदयपुर जिल्लाका समुदायहरुमा उर्जा र मोबाइल सेवा प्रदान गर्दै आएका छन् । यसले स्थानिय तहमा नयाँ अवसरहरुको सिर्जना गरेको छ । यो आयोजनाले गर्दा ३१ गाविसका बासिन्दाहरुमाझ एनसेलको मोबाइल सेवा पुगेको छ । लघुग्रीडहरुसँग सौर्य उर्जा आपुर्तिको थप क्षमता पनि भएकाले स्थानिय समुदायको विद्युतीकरणमा पनि योगदान पुगेको छ, जसले गर्दा नयाँ आर्थिक र सामाजिक लाभका अवसरहरुको सिर्जना भएको छ ।

भरपर्दो मोबाइल सेवा तथा उर्जा आपुर्तिका कारण साना तथा मझौला उद्योगहरु जस्तै ईलेक्ट्रिक ग्राइन्ङिङ्ग मिल, कम्प्युटर सेन्टरहरु, रेस्टुरेन्ट र पेट्रोल पम्पहरु खुलेका छन् र स्थानिय स्तरमा नै रोजगारीका अवसरहरु सिर्जना भएका छन् । विद्यालय जाने बालबालिकाहरुले साँझमा अबेरसम्म पढ्न लेख्न पाएका छन् । धुँवा तथा मटितेलका बत्तिहहरुले स्वास्थ्यमा पार्ने नकारात्मक असरहरुबाट मुक्ति मिलेको छ ।

समाजमा विभिन्न योगदान पु¥याए वापत एनसेल गत वर्ष पनि अन्र्तराष्ट्रिय पुरस्कारहरुबाट सम्मानित भएको थियो । कम्पनीले ‘मोबाइल इन इमरजेन्सी अर ह्युम्यानिटेरियन सिचुएसन्स्’ विधामा जिएसएमएबाट ग्लोबल मोवाइल अवार्डस् २०१६ र फ्रोस्ट एण्ड सलिभन एसिया प्यासिफिक अवार्डस् २०१६ मा नेपालको उत्कृष्ट टेलिकम कम्पनीको अवार्ड पाएको थियो ।


क्लिकमान्डु