एनसेललाई फोरजी संचालनको अनुमति



काठमाडौं। निजी मोबाइल सेवा प्रदायक एनसेलले चौथो पुस्ताको प्रविधि फोरजी संचालन गर्ने अनुमति पाएको छ । नेपाल दूरसंचार प्राधिकरणको बुधवार बसेको बोर्ड बैठकले एनसेललाई फोरजी संचालनको अनुमति दिएको हो ।

एनसेलले टेक्नोलोजी न्यूट्रालिटी अर्थात प्रविधि तटस्थता अन्तर्गत फोरजी संचालन गर्ने अनुमति पाएको हो । दूरसंचार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले बोर्ड बैठकले एनसेललाई फोरजी संचालनको अनुमति दिएको जानकारी दिए । ‘नयाँ अनुमति दिएको होइन् । टेक्नोलोजी न्यूट्रालिटीअन्तर्गत अनुमति पाएको हो,’ उनले भने, ‘त्यसमा उसले आवश्यकताअनुसार फोरजी पनि चलाउन सक्दछ ।’

एनसेलले हालकै फ्रिक्वेन्सी १८०० र ९०० ब्याण्डमा अपग्रेड गरेर फोरजी चलाउने अनुमति पाएको हो । हाल कम्पनीले १८०० ब्याण्डमा थ्रीजी संचालन गरिरहेको छ भने ९०० ब्याण्डमा २ जी संचालन गरिरहेको छ । कम्पनीले सोहि ब्याण्ड अब अपग्रेड गरेर १८०० मा फोरजी तथा ९०० ब्याण्डमा ३ जी चलाउन सक्नेछ ।

प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले विकास समितीको निर्देशनको आधारमा एनसेललाई अनुमति दिईएको जानकारी दिए । उनकाअनुसार दुबै ब्याण्डमा एनसेलले अपग्रेड गरेर फोरजी चलाउन पाउनेछ भने ग्रामिण भेगमा प्रविधिको विस्तार गर्ने सर्तमा अनुमति पाएको हो । ‘हामीले लेखा समिती भन्दा पनि विकास समितीको निर्देशनलाई पालना गरेका हौं,’ उनले भने, ‘ग्रामिण क्षेत्रमा नयाँ प्रविधिमा आधारित रहेर इन्टरनेटको पहुँच बढाउन अनुमति पाएको हो ।’

प्राधिकरणकाअनुसार हाल फ्रिक्वेन्सी दिने स्पष्ट नीति नभएको हुँदा पनि ग्रामिण क्षेत्रमा प्रविधि बिस्तार गर्ने शर्तमा फोरजी संचालनको अनुमति दिएको बताइएको छ।

यसअघि लेखा समितीले एनसेलको कर विवाद नसुल्झाएसम्म नयाँ प्रविधिको अनुमति नदिन निर्देशन दिएको थियो । यहि बिचमा संसदको विकास समितीले भने एनसेललाई फोरजी प्रविधि संचालन गर्न निर्देशन जारी गरेको थियो । केहि समयअघि देखि एनसेल खरिदबिक्रीमा तिर्नुपर्ने करको विवादमा पर्दै आएको छ ।


क्लिकमान्डु